Main

दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

९ मंसिर, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दुई गोलको अग्रता जोगाउन नसक्दा सेल्टा भिगोसँग २-२ को बराबरी खेलेको छ । अन्तिम १० मिनेट दश खेलाडीमा रहेर खेलेको बार्सिलोनाले दुवै गोल अन्तिम समयमा व्यहोरेको थियो ।

सेल्टाको मैदानमा भएको खेलमा कप्तान राफिन्हाले १५औं मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६१औ मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

तर अन्तिम दश मिनेटको खेलले नाटकिय मोड लियो । मार्क कासाडो ८२औं मिनेटमा रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा समेटियो ।

त्यसको फाइदा सेल्टाले उठायो । सेल्टाका लागि वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अल्फोनस् गोन्जालेजले ८४औं मिनेटमा गोल गर्दै खेलमा फर्काए । त्यसपछि ह्युगो अल्भारेजले ८६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

यस सिजनको दोस्रो बराबरी खेलेको बार्सिलोना १४ खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमै कायम छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट २९ अंक छ । एट्लेटिकोले गएराती भएको खेलमा अभेज विरुद्ध २-१ को पुनरागमन जत निकाल्दै दोस्रो स्थानमा उक्लेको छ ।

१२ खेल मात्र खेलेको रियल मड्रिड २७ अंकसहित तेस्रो स्थानमा छ । सेल्टा भिगो १४ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button