‘बलिदान’को शीर्ष भूमिकामा विराज भट्टका छोरा समीर अनुबन्धित

काठमाडौं । आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् । अभिनेता विराज भट्टका छोरा समेत रहेका उनी यो फिल्मको लिड-मेलमा प्रस्तुत हुने जनाइएको छ ।
भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । ‘धेरै कार्यशालामा बस्दा हामीले खोजेको पात्रमा उहाँ उपयुक्त हुने देखियो,’ भट्टबारे निर्देशक सन्तोष सेनले अनलाइनखबरसँग भने, ‘पात्रलाई पुष्टि गर्न उहाँभन्दा अर्को उपयुक्त कलाकार भेटिएन ।’
आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताए । समीरको अपोजिटमा अभिनय गर्ने लिड-फिमेलको कास्टिङबारे भने तय छैन ।
यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । तर कथालाई डोर्याउने काम चाहिं समीरले गर्ने जनाइएको छ । यो फिल्मको पटकथा दर्शनजीले लेखेका हुन् ।
फिल्मले नेपालको राष्ट्रिय स्वाधीनताविरुद्ध लाग्ने बाह्य तत्वविरुद्ध मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । टिजर र पोस्टरले यो फिल्मको कथानक मनोविज्ञानबारे धेरै कुरा पेश गर्छ । यसबाहेक विराजले निर्माण गर्न लागेको एक्सन–थ्रिलर ‘१२ गाउँ’मा पनि उनी अनुबन्धित भइसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।