‘बलिदान’मा जोडिए दिव्यदेव

काठमाडौं । छायांकन तयारीमा रहेको पोलिटिकल ड्रामा फिल्म ‘बलिदान’को प्रमुखमध्येको एक भूमिकामा अभिनेता दिव्यदेव अनुबन्धित भएका छन् । निर्माता कम्पनी आसुसेन फिल्म्सले वक्तव्य जारी गर्दै यसबारे जनाएको छ ।
निर्देशक सन्तोष सेनले सुहाउँदोमध्येको एक कलाकारमा दिव्यदेवलाई लिइएको बताए । ‘हाम्रो फिल्मको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ,’ सेनले भने ।
‘आवरण’बाट अभिनय करिअर थालेका दिव्यदेवले अहिले टिभी रियालिटी शो ‘द पोएट आइडल’ होस्ट गरिरहेका छन् । उनको पछिल्लो फिल्म ‘चिसो एस्ट्रे’लाई समीक्षात्मक रुपमा रुचाइएको थियो ।
उनले ‘हिजोआजका कुरा’, ‘दी सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’मा काम गरेका छन् । ‘रुदाने’ रिलिज तयारीमा छ । उनले हालै अर्को पोलिटिकल ड्रामा ‘मेयर’मा पनि काम गरेका छन् ।
‘बलिदान’बारे दिव्यदेवले खुसी व्यक्त गरे । ‘एउटा महत्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ फिल्म बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने ।
‘बलिदान’मा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र समीर भट्ट पनि अनुबन्धित भइसकेका छन् । २०८१ सालभित्रै प्रदर्शन तयारीमा रहेको फिल्मको छायांकनका लागि इटहरीमा सेट निर्माण भइरहेको छ ।
निर्देशक सेनले देश, काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बीच सेट डिजाइन भइरहेको बताए । आसुसेन फिल्मस्को प्रस्तुति रहने फिल्मलाई पवन ब्राडफोर्ड बिष्ट र प्रेम पुरीले लगानी गर्दैछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।