बागमतीमा कांग्रेसलाई मुख्यमन्त्री, एमालेले माग्यो ७ मन्त्रालय

६ साउन, हेटौंडा । बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन नजिकिएपछि नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठनसम्बन्धी छलफललाई तिब्रता दिएका छन् ।
शनिबारसम्म दुई दलबीच नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी बनिसकेको छ तर मन्त्रालय भागबण्डामा भने कुरा मिलिसकेको छैन ।
कांग्रेसका तर्फबाट कार्यदल सदस्य रामकृष्ण चित्रकारका अनुसार मन्त्रालयको संख्या १३ वटै कायम राख्ने सहमति भएको छ । सरकार गठन भएको २० दिनभित्र टुंग्याउने गरी प्रदेश सरकारका प्रमुख सचिवको नेतृत्वमा एउटा कार्यदल बनाएर मन्त्रालय संख्याको निर्धारण गरिने चित्रकारले बताए ।
१३ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित कांग्रेसलाई ६ वटा मन्त्रालय र एमालेले ७ वटा मन्त्रालय लिने गरी छलफल अगाडि बढेको नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
मन्त्रालय भागबण्डा लगायतको विषय टुंगो लगाउन दुबै दलका ३-३ जना नेता रहेको कार्यदल बनाइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका श्रीराम लामिछाने तथा एमालेबाट मुख्य सचेतक मधुसुदन पौडेल, सांसदहरु केशव पोख्रेल र किरण थापा सदस्य छन् ।
एमालेका मुख्य सचेतक तथा कार्यदल सदस्य पौडेलका अनुसार कांग्रेसले सरकारको नेतृत्व गर्नेमा सहमति जुटिसकेको छ ।
बागमतीमा नेकपा एमालेले ७ वटा मन्त्रालयमा दाबी गरेको छ । ‘मुख्यमन्त्री कांग्रेसले लिने भएपछि हामीले ७ वटा मन्त्रालय चाहिने बताएका छौं । पछि अर्को सरकार बन्दा हामीले मुख्यमन्त्री लिँदा पनि कांग्रेसलाई ७ वटा मन्त्रालय दिन्छौं’, सचेतक पौडेलले भने ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । उनको पक्षमा बहुमत नभएकाले उनी पदमुक्त हुने भएकाले सरकार गठनको तयारी अवस्थामा रहेको कांग्रेस प्रमुख सचेतक लम्सालले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।