Main

बागमती प्रदेशसभाको वार्षिक उत्सवमा ८० सांसद अनुपस्थित

१८ माघ हेटौंडा । बिहीबार बागमती प्रदेशसभाको छैटौं वार्षिकोत्सव कार्यक्रममा ११० जना प्रदेशसभा सदस्यममध्ये करिब ३० जनामात्र सहभागी भए ।

त्यस्तै बागमती सरकारका १२ मन्त्रीमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र वन तथा वातावरण मन्त्री मसिना खड्का अनुपस्थित रहे ।

प्रदेश प्रमुख यादव शर्मा प्रमुख अतिथि र सभामुख भुवन पाठकको अध्यक्षतामा भएको कार्यक्रमको अधिकांश कुर्सी खाली थिए । कार्यक्रमस्थल कर्मचारी, मर्यादापालक, मन्त्री र सांसदका स्वकीय सचिव र सञ्चारकर्मीले भरिएको थियो । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले ठट्यौली शैलीमा भने, ‘म त आएको छु है । उहाँहरु चिसो मौसम भएकाले नआउनुभएको हुन सक्छ ।’,

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वार्षिकोत्सवमा सांसदको सहभागितालाई लिएर व्यंग्यसमेत गरे । ‘उपसभामुखज्यू स्वागत गरिरहनुभएको छ । कार्यक्रम सञ्चालक कार्यक्रम चलाइरहनुभएको छ । तर, तलबाट ताली पड्किदैन’ उनले भने ।

उपसभामुख अप्सरा चापागाईंले सबै सांसदहरुलाई खबर गरिएको तर धेरै सांसदहरु नआएको बताइन् । ‘धेरै माननीयहरु आउनुभएको छैन, नोटिस गरिएको छ । उहाँहरु वार्षिकोत्सव जस्तो महत्वपूर्ण कार्यक्रममा आउनुपथ्र्यो । कतिपयले कार्यक्रममा भएकाले आउन नपाएको पनि बताउनुभएको छ’, चापागाईंले भनिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button