बागमती प्रदेश छनोट क्रिकेटको उपाधि ललितपुरलाई

२४ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट बागमती प्रदेश छनोटको उपाधि ललितपुर जिल्लाले जितेको छ ।
मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराएर ललितपुर च्याम्पियन बनेको हो ।
चितवनले दिएको १५३ रनको लक्ष्य ललितपुरले ३५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
ललितपुरका लागि आशुतोष घिरैयाले १०२ बल खेल्दै १२ चौका मदतमा मदतमा अविजित ८३ रन बनाए । यस्तै आदिल खानले १८ तथा विवेक राना मगरले १७ रन जोडे ।
चितवनका डानिस इकबालले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ४५.२ ओभरमा सबै विकेट थुमाएर १ सय ५२ रनमा अलआउट भएको थियो ।
चितवनको लागि ओपनर रोशन झाले ५३ बलमा सर्वाधिक ४९ रन बनाए । विकल कुमार गुप्ता २२ र डानिल इकवालले २१ रन जोडे ।
ललितपुरका विपिन आचार्य र भगर्व खनालले समान ३ विकेट लिए । त्यस्तै पञ्कज पाण्डे, आयुश जैसवाल र आदिल खानले समान १-१ विकेट लिए ।
यसअघि सेमिफाइनलमा चितवनले काठमाडौंलाई तथा ललितपुरले नुवाकोटलाई हराएको थियो ।
प्रतियोगितामा ललितपुरलाई च्याम्पियन बनाउन सहयोग गरेका आशुतोष घिरैया उत्कृष्ट खेलाडी घोषित भए । यस्तै काठमाडौंका इशान पाण्डे उत्कृष्ट ब्याटर र चितवनका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता पुस २८ गते शनिबारदेखि सुरु हुँदैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।