बाढी पहिरोबाट कोशीमा साढे ४ अर्बको क्षति
२० असोज, विराटनगर । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण कोशी प्रदेशमा साढे चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रदेश सरकारले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्ब ६३ करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको बताएको हो ।
बाढी पहिरोपछि प्रदेशले भौतिक क्षतिको विवरण संकलन गरेको थियो । प्रदेशका १४ जिल्लामा ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति भएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताए ।
उनका अनुसार आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्नेछ, पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्नका लागि ३ अर्ब ६१ करोड लाग्ने उनले बताए ।
आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको उनले बताए । उनका अनुसार तत्काल मर्मत गर्नुपर्ने अवस्थामा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुल छन् ।
चाडवाड मान्न यात्रा गर्ने सर्वसाधारणलाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालिसकेको मन्त्री राईले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।