Main

बारामा प्रहरीले हराएको पेस्तोल अझै भेटिएन

१२ वैशाख, काठमाडौं । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराका वरिष्ठ सई पूर्ण बिसीले बोकेको बेला हराएको पेस्तोल अझै भेटिएको छैन ।

सोमबार राति अपरेसनमा जाँदा हराएको पेस्तोल बुधबारसम्म भेटिएको छैन । अपरेसनमा गएकाे ठाउँमा निरन्तर खोजी जारी राख्दा पनि पेस्तोल नभेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले बताए । ‘निरन्तर खोजिरहेका छौं । तर अहिलेसम्म भेटिएको छैन’ डीएसपी न्यौपानेले अनलाइनखबरसँग भने ।

सोमबार राति गाँजा तस्करी भइरहेको सूचना आएपछि वरिष्ठ सई बिसीको टोली अपरेसनमा खटिएको थियो । सो क्रममा मान्छे पक्राउ परे पनि गाँजा फेला परेको थिएन ।

गाँजा नभेटिएको भन्दै फर्किएको प्रहरी टोली कार्यालयमा आइसकेपछि पेस्तोल हराएको भन्दै पुनः खोजीका लागि गएको थियो । त्यसक्रममा गाँजा भेटिएको तर पेस्तोल नभेटिएको डीएसपी न्यौपानेको भनाइ छ ।

‘हराउने बित्तिकै रातिदेखि नै पेस्तोलको खोजी भएको हो । सो क्रममा १२ किलो गाँजा भेटियो ।’ डीएसपी न्यौपानेले भने । पेस्तोलमा १० राउण्ड गोली लोड भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button