राष्ट्रिय फुल कन्ट्याक्ट कराँते सुरु

२४ वैशाख, काठमाडौं । नेपाल क्योकुसिन कराँते डो संघ बज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौल समूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक बज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन बज्रका विशाल सुनुवार, केडब्लूडब्लूका सरोज श्रेष्ठ, क्योकुसिन कानका रविन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५० केजीमा एपीएफका सुनिल तामाङ, क्योकुसिन बज्रका विज्ञान तोलङगे, आईकेकेएफका सुशील अधिकारी, आईकेओका दिपेन्द्र रोकाय, क्योकुसिन बज्रका हेमन्त बस्नेत, आईकेएका अनिल लोहार, आईकेकेएफका सुजन तामाङ र क्योकुसिन बज्रका सुसन लामा क्वाटर फाइनलमा पुगे ।
महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफ रिना माझी, क्योकुसिन बज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटर फाइनलमा स्थान बनाउन सफल रहे ।
पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।