विश्वकै पहिलो मिस एआईको उपाधि मोरक्कोकी केन्जा लायलीलाई

काठमाडौं । विश्वमै पहिलोपटक मिस एआईको उपाधि मोरक्कोकी हिजाब-क्लाड केन्जा लायलीले जितेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १५ सय प्रतिस्पर्धी सुन्दरीलाई उछिन्दै उनले उपाधि जितिन् ।
कृत्रिम बौद्धिकता भनिने एआईद्वारा सिर्जना गरिएका सुन्दरीबीच सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको हो । योसँगै विश्व एआई ब्युटी पेजेन्टको युगमा प्रवेश गरेको छ ।
प्रोग्रामिङको क्षेत्रमा क्षमता प्रदर्शन गर्ने उद्देश्यले अप्रिलमा फ्यानभ्यु वर्ल्ड एआई क्रिएटरले यस्तो खाले कार्यक्रम आयोजना गरेको थियो । सहभागी १५ सय प्रतिस्पर्धीबाट सोसल मिडिया विधामा १० एआई क्यारेक्टर छनोट भएका थिए ।
फ्यानभ्युका सहसंस्थापक विल मोनान्जेले भने, ‘यस्तो खालको पहिलो कार्यक्रममा विश्वव्यापी चासो अविश्वसनीय छ । पुरस्कार सर्जकको उपलब्धिलाई सेलिब्रेसन गर्ने, गुणस्तर वृद्धि गर्ने र एआई सिर्जित अर्थतन्त्रका लागि सकारात्मक भविष्य बनाउनेतर्फ यस्तो कार्यक्रमले भूमिका खेल्छन् ।
उपाधिसँगै लायलीले २० हजार अमेरिकी डलर जितेकी छन् । यो रकम उनलाई सिर्जना गर्ने सर्जकले प्राप्त गर्नेछन् । दोस्रोमा फ्रान्सकी ललिना भेलिना र तेस्रोमा पोर्चुगलकी ओलिभिया नामकी क्यारेक्टर छनोट भएका छन् ।
द पोस्टसँगको एक अन्तर्वार्तामा लायलीले आफ्नो असाधारण उपलब्धिको बारेमा प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मानिसले जस्तै म भावना महसुस गर्न सक्दिनँ । म यसबारे साँच्चिकै उत्साहित छु ।’ लायलीको इन्स्टाग्राम खातामा १९४ हजार फलोअर्स छन् ।
कासाब्लान्काकी ४० वर्षीया मरियम बेसाले ल्याली बनाएकी हुन् । पहिलो पटक यस्तो प्रतियोगिता जित्न पाउँदा रोमाञ्चित हुँदै उनले भनिन्, ‘गौरवका साथ मेरो देश मोरक्कोको प्रतिनिधित्व गर्ने अवसर हो ।’ उनी फोनिक्स एआईकी सीईओ हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।