खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो ।
खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो ।
लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी गरेर सम्याउन डोजर चलाएर सफा गरिरहेको चौरमा अभियन्ताहरू पुगेर नागरिक आवाज उठाएका हुन् ।
खुलामञ्चमा काठमाडौं महानगरपालिकाले खेल मैदान बनाउने तयारी गरेपछि चर्को विरोध हुँदै आएको छ । महानगरपालिकाले खेल मैदानका लागि दुबो रोप्न अहिले दैनिक ५० सरसफाइकर्मी परिचालन गरेर चौरमा भएको ढुंगा, फोहोर हटाउने काम गरिरहेको छ ।
महानगरपालिकाले कृत्रिम दुबो रोप्ने योजनाबाट पछाडि हटे पनि खेलमैदान बनाउने योजना भने यथावत नै राखेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार खुलामञ्चमा ४ वटा गोलपोस्ट र रेखाङ्कन गर्न बजेट समेत विनियोजन भइसकेको छ ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।