बेथानचोकका दुःख (तस्वीरहरू)

२१ असोज, काठमाडौं । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका पशुपालन र कृषिका लागि उर्वर भूमिमात्र नभई नारायणस्थान घुम्न जाने आन्तरिक पर्यटकको एउटा प्रमुख गन्तव्य पनि हो ।
१० देखि १२ असोजसम्म परेको भारी वर्षाका कारण अब बेथानचोकको परिचय नै फेरिएको छ । बेथानचोक गाउँपालिकाको केन्द्र ढुङ्खर्क बजारमा १० असोजभन्दा अगाडि छुट्टै उत्साह थियो ।
महाभारत पर्वत शृङ्खलाको बेथानचोक नारायणस्थानको काखैमा बसेको ढुङ्खर्कको फाँट तरकारी उत्पादनका हिसाबले प्रख्यात क्षेत्र थियो । शुक्रबार र शनिबार बेथानचोक नारायणस्थान पुग्ने पर्यटकले बेथानचोकको होमस्टे र होटल भरिभराउ हुने गरेको थियो ।
पहाडको हरियालीमा रमाउनेका लागि एउटा उपयुक्त गन्तव्यका रूपमा बेथानचोक विकास भइसकेको थियो ।
जिल्ला सदमुकाम धुलिखेलका साथै जिल्लाको प्रमुख सहर बनेपाबाट १९ किलोमिटरको सडक यात्रामा सहज पुग्न सकिने ढुङ्खर्क बजार र बेथानचोकवासीले एउटा विकसित सहरकै जस्तो सेवा सुविधा पाएका थिए ।
राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै नेपाल र त्यहाँबाट पनौती हुँदै बीचमा केही किलोमिटर ग्राभेल कच्ची सडक र अधिकांश कालोपत्र सडकले ढुङ्खर्क बजार जोडेको थियो ।
सडक पहुँच र नजिकै पनौती र बनेपा जस्ता सहरका कारण बेथानचोकवासी सबै सेवासुविधाको पहुँचमा थिए ।
सुविधा सम्पन्न निजी स्कुलका बस गाउँसम्म पुग्ने, किसानले उत्पादन गरेका तरकारी र दूध घरबाट नै बेच्न सकिने, गाउँमा नै सहकारी र बैंकिङ सुविधा, खानेपानी र सिँचाइ सुविधा जस्ता कारण ढुङ्खर्क आफैंमा सेवा सुविधाका हिसाबले सम्पन्न थियो ।
वरिपरि हरियो घाँस र केही चिसो मौसमले गर्दा बेथानचोक पशुपालनका लागि उपयुक्त क्षेत्र थियो । गाउँपालिकामा १५ हजारभन्दा बढी संख्यामा गाईभैंसी पालन हुँदै आएको थियो ।
यस्तै बेथानचोकको फाँटमा उत्पादन हुने हरिया तरकारीले बेथानचोकलाई नै सुन्दरता भरेको थियो ।
१० असोजमा भारी वर्षा सुरु हुनु अगाडिसम्म बेथानचोकको परिचय यही थियो । तर, अब बेथानचोकको परिचय नै फेरिएको छ ।
गाउँ पुग्ने सडक खहरे खोला सलान्दुमा आएको पहिरो सहितको बाढीले बगरमा परिणत भएको छ ।
जसले गर्दा गाउँमा उत्पादन भएको तरकारी बजारसम्म पुग्न सक्ने अवस्था छैन ।
पशुपालन गर्ने स्थानीयले दूध बेच्न पाएका छैनन् भने बाढी र पहिरोबाट बचेका पशुका लगि खुवाउने दाना किन्नसमेत समस्या भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार बेथानचोकबाट मात्रै दैनिक २२ हजार लिटर दूध संकलन गरी बनेपा, काठमाडौं लगायत बजार पठाइँदै आएको थियो ।
‘अहिले दैनिक ७ हजार लिटर दूध मात्रै संकलन भइरहेको छ,’ भण्डारीले भने, ‘संकलन भएको दूधमध्ये केही भरिया लगाएर बोकेर सडक भएसम्म पुर्याइएको छ भने केहीको खुवा बनाउने गरिएको छ । बाँकी दूध यसै खेर गइरहेको छ ।’
सडक सञ्जाल टुटेको र स्थानीयको अन्नपातमा समेत क्षति पुग्दा पशु चौपायालाई खुवाउने दानाको समेत अभाव भइरहेको छ ।
बेथानचोकमा संकलन भएको दूध स्थानीय युवाले नै ज्यालामा बोकेर बजारसम्म पुर्याउने काम गरिरहेका छन् ।
११ देखि सडक बन्द भएसँगै दूध संकलन भएकोमा १७ गतेबाट भने केही स्थानमा संकलन सुरु भएको बेथानचोक–३ का स्थानीय किसान विजय श्रेष्ठले बताए ।
दुग्ध सहकारीले संकलन गरेको दूध बेथानचोक–४ मा पर्ने देवीस्थानमा गाडीसम्म पुर्याएर फर्किंदै गरेका उनले पशु चौपायालाई खुवाउने दानाको समेत समस्या हुन लागेको बताए ।
४८२ पशु चौपाया मरे
गाउँपालिकाको ६ वटै वडामा गरी ४ सय ८२ पशु चौपाया मरेका छन् । गाई, भैंसी, बाख्रा र बंगुर समेत गरेर उक्त संख्यामा पशु चैपाया मरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
हाँस, कुखुरा लगायत पंक्षी ७ हजार ५ सय ६२ बाढी र पहिरोमा परी मरेका छन् ।
यस्तै बालीनाली सहित १३ हजार ६ सय रोपनी खेत र बारी बाढी र पहिरोमा नष्ट भएको छ । ७ हजार ५ सय माछा रहेको एउटा माछा फार्म पूर्णरूपमा नष्ट भएको छ ।
‘पाकेर भित्र्याउने बेला भएको धान मकैमात्र नभएर तरकारी समेत बाढी र पहिरोसँगै क्षति हुँदा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ,’ भण्डारीले भने, ‘पशु चौपाया, बालीनाली र जमिन सहित ४ सय ८१ गोठमा समेत क्षति पुगेको छ ।’
काभ्रेपलाञ्चोकको तरकारी पकेट क्षेत्रका रूपमा रहेको बेथानचोकमा नै बाढी र पहिरोपछि तरकारी अभाव भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
धनियाँ प्रशस्त उत्पादन भए पनि बजार लैजान समस्या छ । गत शुक्रबार बाढी–पहिरो प्रभावित ढुङ्खर्क बजारको स्थलगत रिपोर्टिङमा पुग्दा स्थानीय किसान दूधको क्यान र डोकोमा धनियाँ बोकेर पनौती लैजान तयार थिए ।
पनौतीबाट फर्किने स्थानीयले रासन र पशु चौपायालाई खुवाउने दानाको भारी बोकेर फर्किंदै थिए ।
गाउँपालिकाको–४ नजिकै सलान्दु बगरबाट २ नम्बर वडा सिमानामा पर्ने पार्थलीको ठाडो ओरालोमा दूध क्यान र फर्किंदा सोही उकालोमा चामल तथा दानाका बोरा बोक्दै स्थानी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पनौतीबाट बेथानचोक गाउँपालिकाको सीमाना प्रवेश गर्नासाथ सलान्दुको खहरे बाढीले सडक मात्रै नभएर पैदल हिँड्ने बाटो समेत सग्लो छैन ।
यस्तो जोखिमपूर्ण अवस्थामा स्थानीय पशु चौपाया बचाउन उत्पादन भएको दूध र कृषि उपज बजारसम्म पुर्याउने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पनौतीको सीमा नजिकै पर्ने गाउँपालिका–४ देवीस्थान मोडसम्म गाडी सञ्चालन भएको छ । त्यहाँबाट पालिका केन्द्रसम्म सामान बोक्न भरियाले किलोको १० रुपैयाँका दरले ज्याला लिने गरेको स्थानीय किसान बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।