ऊर्जा दक्षतामा अनुदान योजना सुरु
७ मंसिर, काठमाडौं । नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षता प्रवर्द्धन गर्न अनुदान योजना सुरु भएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनर्प्राप्ति एवं सशक्तीकरण कार्यक्रम अन्तर्गत योजना व्यवस्थापकमा राष्ट्रिय वाणिज्य बैंक छ ।
यस अनुदान योजनाको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायलाई ऊर्जा दक्षताका उपाय अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायमा ऊर्जा दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनु र कार्बन उत्सर्जन घटाउनु समेत रहेको छ ।
यस पहल अन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपाय कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंकमार्फत आंशिक अनुदान उपलब्ध गरिने छ ।
अनुदान सञ्चालन निर्देशिका अनुसार आंशिक अनुदान, ऊर्जा दक्षताका उपायमा कुल आवश्यक लगानीको निश्चित प्रतिशत हुने भएको छ । अनुदानयोग्य हुन उद्योग–व्यवसायले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्ड अवलम्बन गरेको हुनुपर्छ ।
यस पहलले उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताका उपाय अवलम्बन गर्दा देखिने वित्तीय समस्या सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
अनुदान योजना सुरुवातले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयनबीच रहेको खाडल पुर्न महत्त्वपूर्ण कदम हुने जनाइएको छ ।
यसले दिगो ऊर्जा अभ्यास बढावा दिन, चक्रिय अर्थतन्त्रका सिद्धान्त एकीकृत गर्न र उद्योग तथा व्यवसायमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्य समेट्ने भएको छ ।
जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममा जर्मन विकास सहयोग (जीआईजेड) ले प्राविधिक सहयोग गर्दै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।