Main

भरतपुर आउने पर्यटकले पाटे बाघ हेर्न पाउने

१४, चैत, चितवन। चितवनको भरतपुर ६ देवनगरमा विश्वकै दुलर्भ मानिने पाटे बाघ सजिलै हेर्न मिल्ने गरी वन्यजन्तु उद्धार केन्द्र तयार गरिएको छ । उक्त केन्द्रमा नरभक्षी २ वटा भाले बाघलाई राखिएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर वन्यजन्तु उद्धार केन्द्र सञ्चालनको तयारी छ । केन्द्र तयार भए पनि पर्यटकहरुलाई टिकट काटेर हेर्न मिल्ने व्यवस्थापनको तयारी बाँकी छ ।

बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका नरभक्षी बाघलाई केन्द्रमा राखेर पर्यटकलाई देखाउने र टिकटबाट उठेको रकम तिनै बाघको रेखदेख तथा अन्य व्यवस्थापनमा खर्च गर्ने योजना रहेको छ ।

टिकौली जंगल छेउबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किलोमिटर दक्षिणमा पर्छ यो केन्द्र । वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुग्ने बताइन् । कसरा तथा सौराहामा थुनेर राखिएका यस्ता बाघलाई सधैं थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको सन्दर्भमा अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि सो समस्या हल हुने नगर प्रमुख दाहालले बताइन् ।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका बाघको व्यवस्थापन गर्न सहज हुने अपेक्षा निकुञ्जले गरेको बताइन् । केन्द्रमा राखिएका बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको थियो ।

हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो।

चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो । भरतपुर भ्रमण वर्ष र पर्यापर्यटनलाई सहयोग पुग्ने विश्वासका साथ बाघलाई उद्धार केन्द्रमा राखिएका हुन् । केन्द्र खुला गरिए पछि कार्यविधि बनाएर टिकट र व्यवस्थापनका बाँकी काम गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

बाघ राख्नका लागि तराई भूपरिधि कार्यक्रम(ताल) को करिब ४१ लाख रकम खर्च भएको छ । बाघ राख्नका लागि इन्क्लोजर र हेर्न २ वटा मचान तयार गरिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button