भरतपुर-१२ का वडाध्यक्षले गरिब र विपन्नलाई बाँडे २०० केजी मासु-चिउरा
२५ असोज, चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लेखराज पन्त ‘हरि’ले आफ्नो वडाका विपन्न तथा गरिबहरूलाई दशैंमा मासु र चिउरा बाँडेका छन्।
उनले आफ्नै निवासमा बोलाएर आफ्नो वडाका हरेक गरिब तथा विपन्न घरधुरीलाई २ किलोका दरले २ सय किलो मासु र २ सय किलो चिउरा बाँडेका हुन्।
उनले गतवर्ष पनि ८० घरलाई २÷२ किलोका दरले मासु बाँडेका थिए। टोल सुधार समिति तथा विभिन्न आमा समूहहरुको सिफारिसका आधारमा दशैंमा दुई छाक मासु खान नपाउने अति विपिन्न, सिमान्तकृत र गरिब घर परिवारलाई कुखुराको मासु बडाध्यक्ष पन्तले बाँडेका हुन्।
उनले वडामा कुनै पनि घर परिवार दशैंमा मासु खानबाट बञ्चित हुन नपरोस्, सबैको घरमा मासु खानेहरूले खान पाउन भनेर मासु बाँडेको बताए । गरिब तथा विपन्न नागरिकहरुले दशैं नमानेसम्म आफूले पनि नमान्ने नीति अनुरुप हरेक बर्ष सहयोग गर्दै आएको उनको भनाई छ ।
समाजसेवीका रुपमा परिचित वडाध्यक्ष पन्तले जन्मदिनको अवसरमा १७ लाख रूपैयाँ विभिन्न सामाजिक संघसंस्थाहरुलाई बाँडेका थिए। उनले वडाध्यक्ष भए पनि नभए पनि बाँचुञ्जेल दशैंमा मासु, चिउरा, भूजा बाँड्ने बताए।
‘हरेक दशैं मान्ने गरिब तथा विपन्नका घरमा मासु पाक्नुपर्छ भन्ने मलाई लाग्छ, हामीले मात्रै दशैं मानेर भएन, सबैले दशैं मान्नुपर्छ, मेरो घरमा दशैं मान्न सकिनँ भनेर आउने हरेकलाई मासु र चिउरा दिएर पठाउँछु,’ वडाध्यक्ष पन्तले भने, ‘दशैं भनेको सबै मिलेर मान्ने हो, सक्नेले नसक्नेलाई सहयोग गर्ने हो भन्ने लाग्छ । हिजो आफूले पनि सानोमा निकै दुःख ब्यहोरेको हुनाले आज केही हुँदा सहयोग गरौं भनेर गरेको हो । ’
वडावासीले पैसा भएन भनेर मासु खानबाट कोही पनि बञ्चित हुन दशैंमा नदिने वडाध्यक्ष पन्तले बताए । मासु पाएपछि खुसी बनेका स्थानीय धिरज दराईले वडाध्यक्षले दशैं मनाइदिएकोमा खुसी ब्यक्त गरे । अर्का स्थानीय पूर्णबहादुर दराईले वडाध्यक्षले दिएको मासु घरका नातीनातिनालाई खुवाउने बताए ।
विपन्नसँग वडाध्यक्ष’ कार्यक्रम नै चलाएका पन्तको मासु बाँड्ने कार्यक्रममा पुगेका बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीले जिल्लाका ९८ वटा वडा मध्ये भरतपुर १२ का वडाध्यक्षले नमूना काम गरेको बताए ।
‘उहाँ त राजा महिन्द्र मल्ल जस्तो हुनुभो, जसको घरबाट धुँवा आएको छैन, उसले खान पाएन की भनेर राजा मल्लले चासो राखेको हामीले इतिहासमा पढेका थियौं,’ सुवेदीले भने, ‘पन्त जीले पनि आफ्नो वडाका सबै गरिब विपन्नलाई दशैं मनाइदिने काम गर्नुभएको छ, यो अनुकरणीय छ ।’
यस्तैं बागमती प्रदेश सांसद ईश्वर सापकोटाले वडाध्यक्षले गरेको कामले प्रेरणा मिलेको बताए। वडाभरिकै विपन्न तथा गरिवहरूहरुको आत्मा खुसी भएको भन्दैं सांसद सापकोटाले सक्ने जति सबैले आआफ्नो गक्ष अनुसार सहयोग गर्न उनले अनुरोध गरे । भरतपुर १३ मा झण्डैं ३५० जना गरिव तथा विपन्न परिवार रहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।