Main

काठमाडौंमा पहिलोपटक गुञ्जियो कन्दरा, दर्शकको बलियो साथ (तस्वीर)

काठमाडौं । शनिबार राति ठमेलको एलओडी क्लबमा सांगीतिक इतिहास लेखियो, जुन लेखिनैपर्ने थियो । ‘कन्दरा’ ब्याण्डका लागि यो सानदार पुनरागमन थियो । अनि, पहिलोपटक काठमाडौंमा ब्याण्ड गुञ्जिएको अभूतपूर्व क्षण । यो विश्वचर्चित क्लबमा आफ्ना प्रशंसकमाझ कन्दरा दुई घण्टा गुञ्जियो ।

राति १० बजेपछि भोकलिस्ट विवेक श्रेष्ठ ‘हेलो काठमाडौं’ भन्दै मञ्चमा देखिए । त्यसपछि सुरु भयो ‘कन्दरा’को सांगीतिक जादू । ‘तगारोमा रुमाल राखी’ गाउँदै उनले एकपछि अर्को हिट गीत पस्किए ।

त्यसपछि गाए– लेककी हे माया, विदेशिएर गइन् उनी, चञ्चले कान्छीको, भेडी गोठैमा, हङकङ पोखरा, बिचरा म । दर्शकबाट ‘वान्स मोर’को तीव्र हुटिङपछि विवेकले कतिपय गीतलाई पुनः गाए ।

आफ्ना हिट गीत मात्र हैन, पाका संगीतकर्मी रञ्जित गजमेर, लोकगायिका बीमाकुमारी दुरा लगायत सांगीतिक हस्तीलाई समर्पित गर्दै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनायो कन्दराले । गितार र मादलजस्ता वाद्यबादनको प्रस्तुति यी संगीतका अग्रजप्रति समर्पित थियो ।

सन् १९९० को दशकको चर्चित ब्याण्डलाई सुन्न एलओडी क्लब खचाखच थियो । किशोरदेखि पाको उमेरका दर्शक पनि ब्याण्डलाई सुन्न खचाखच थिए । गायनमा पनि कन्दराले दर्शकको राम्रो साथ पायो । विवेकले स्टेजमा गाउँदा विशाल एलईडी स्क्रिनमा कन्दराको म्युजिक भिडियो र लिरिक्स डिस्प्ले गरिएको थियो ।

यो कन्सर्ट मानसिक स्वास्थ्यसँग जुधिरहेकाप्रति समर्पित रहेको पनि उक्त अवसरमा जनाइयो । कन्दराको प्रस्तुतिअघि देबेन्द्र बब्लु र फिरन्तेले प्रस्तुति दिए । उक्त अवसरमा बब्लुले चाँडै ‘फिरन्ते’ एल्बम आउने जनाए ।

कन्दराको प्रस्तुतितर्फ भोकलमा विवेक र ड्रम्समा सुनिल थापा थिए । सुनिल स्थापनाकालदेखि ब्याण्डका मेरुदण्ड हुन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा छन् । ब्याण्डले हालै लाइनअपलाई पुनर्संरचना गरेको थियो ।

‘पहिला घरदेश अनि परदेश’ नारासहित ब्याण्ड यतिबेला नेपाल टुरमा छ । पर्यटकीय राजधानी पोखरापछि ब्याण्ड संघीय राजधानीमा पहिलोपटक गुञ्जिएको हो । यसपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि ब्याण्ड गुञ्जिने तयारीमा छ । यी सहरको कन्सर्ट मिति तय हुन बाँकी छ ।

ब्याण्डले जनवरीदेखि वर्ल्ड टुर गर्दैछ । बेलायत र यूएईको दुबईदेखि विश्व यात्रा सुरु गर्ने कार्यक्रम छ । फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्टसम्म युरोप भ्रमण तय भएको छ । महिना तय भएपनि यकिन मिति भने तय हुन बाँकी रहेको जनाइएको छ ।

सात अमेरिकी सहरमा पनि सांगीतिक टुर हुने निश्चित भएको छ । ‘यस अन्तर्राष्ट्रिय भ्रमणले नेपालको समृद्धि सांस्कृतिक सम्पदा र यसको विकसित हुँदै गइरहेको संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने कन्दराको कालजयी गीतहरुका साथै नयाँ सिम्फोनीलाई पनि विश्वव्यापी दर्शकमाझ लैजान्छ,’ ब्याण्डले भनेको छ ।

अन्य तस्वीर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button