भारतीय खेलाडी जुही शाले गण्डकीबाट एभरेष्ट भलिबल खेल्ने

६ असोज, काठमाडौं। भारतीय महिला भलिबल खेलाडी जुही शाले गण्डकी थण्डर्सबाट एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युसीएल) खेल्ने भएकी छन् ।
गण्डकीले आइतबार विज्ञप्ती जारी गर्दै शालाई आफ्नो चौथो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । भातरीय टोलीकी अनुभवी खेलाडीको रुपमा रहेकी शासँग यसअघि पनि नेपालमा भलिबल खेलेको अनुभव छ ।
सेटर शाले भर्खरै मात्र काठमाडौंमा काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । करिव १५ वर्ष लामो भलिबल अनुभव भएकी शाले एभीसी च्यालेन्जर कप, काभा वुमन्स भलिबल लिग खेलेको अनुभव छ । उनले १५ भन्दा धेरै राष्ट्रिय स्तरका खेलहरु खेलेकी छन् ।
शा काठमाडौंमा भएको काभा वुमन्स लिगको वेस्ट सेटर पनि घोषित भएकी थिइन् । गण्डकीले यसअघि दुई खेलाडी रसियाबाट रसियाकी जुभियागिनसिभा र एलिसा रुबियक र भारतबाट शिल्पा सिन्धलाई अनुबन्ध गरिसकेको छ ।
टिममा चार विदेशी खेलाडी अनुबन्ध गरेपछि गण्डकीका टिम मालिक सौरव केडियाले अब गण्डकीले उपाधिका लागि आफूलाई बलियो दावेदारी दिने बताए ।
गण्डकी टिमका प्रवन्धक विकास खेतानले टिमको विदेशी खेलाडी अनुबन्ध कार्य सकिएको र अब गण्डकीले ट्यालेन्ट हन्टबाट चाडै खेलाडी अनुबन्ध गरेर टिमको तयारीलाई पनि अघि बढाउने बताए ।
राष्ट्रिय टिमकी सदस्य सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले सेप्टेम्बर २५ मा पोखरा रंगशालमा ट्यालेन्ट हन्ट आयोजना गर्दैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।