बिँडी, चुरोट र सिगार महँगिने

१५ जेठ, काठमाडौं । सरकारले बिँडी, चुरोट र सिगारको अन्तःशुल्क बढाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत अन्तःशुल्क बढाएका हुन् ।
सुर्ती भएको सिगार सहित सबै प्रकारका सिगारको अन्तःशुल्क प्रतिखिल्ली १ रुपैयाँले बढाएर ३१ रुपैयाँ पुर्याएको छ ।
यस्तै फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ पुगेको छ ।
फिल्टर भएको चुरोटमा ७० मिलिमिटरसम्म लम्बाइको प्रति एम ५० रुपैयाँ अन्तशुल्क बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ ।
७० देखि ७५ मिलिमिटरसम्म लम्बाइको चुरोटको अन्तःशुल्क प्रति एम ७० रुपैयाँ बढेर २ हजार ३ सय ७० पुगेको छ ।
त्यस्तै ७५ देखि ८५ मिलिमिटरसम्म लम्बाइको चुरोटमा अन्तःशुल्क प्रति एम ९० रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।
८५ मिलिमिटरभन्दा बढी लम्बाइ भएको चुरोटमा अन्तःशुल्क प्रति एम २ सय रुपैयाँ बढेर ४ हजार २ सय पुगेको छ । तयारी बिँडीको अन्तःशुल्क प्रति एम २ रुपैयाँ बढेर ९६ रुपैयाँ पुगेको हो ।
सुर्तीको अन्तःशुल्क प्रतिकिलो २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुग्दा जर्दा खैनी, गुट्खा लगायत सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो अन्तःशुल्क ३० रुपैयाँ बढेर ८ सय ८० पुगेको छ ।
हुक्काको अन्तःशुल्क प्रतिकिलो १०० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ पुगेको हो । त्यस्तै विद्युतीय चुरोट (भेप) लगायतका अन्य निकोटिन भएका वस्तुमा ४० प्रतिशत अन्तःशुल्क लगाउने भएको छ । हाल भेप लगायतका निकोटिन भएको अन्य वस्तुमा प्रतिकिलो ४ सय ७५ रुपैयाँ अन्तःशुल्क रहेको छ ।
परफ्युम तथा पसिना रोक्ने वस्तुमा अन्तःशुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।