स्वर्ण जितेको बास्केटबल टोलीलाई नेबाको सम्मान

२७ वैशाख, काठमाडौं । नेपाल बास्केटल संघ (नेबा) ले चीनको युनान प्रान्तमा भएको थ्रि अन थ्रि बास्केटबलमा स्वर्ण जितेको नेपाली टोलीलाई सम्मान गरेको छ ।
नेबाले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्वर्ण विजेता टोलीलाई नगदसहित सम्मान गरेको हो ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले खेलाडीलाई सम्मान गरेका थिए ।
संघले विजेता खेलाडी र प्रशिक्षकलाई जनही ३०-३० हजार र सम्मान पत्रबाट सम्मानित गरेको हो ।
विजय बुर्जाको कप्तानीमा रहेको टोलीमा मनीष केसी, निकेश मगर र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशील गुरुङ थिए । जहाँ मनीष मोस्ट भ्यालुयबल प्लेयर घोषित भएका थिए । यस्तै सुशील गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए ।
गत साता युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्टस् कार्निभल थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगितामा नेपालले गत वर्षको विजेता युनान प्रान्तको टिमलाई २०-१९ ले हराएर ऐतिहासिक स्वर्ण जितेको थियो ।
नेबाका अध्यक्ष भिमसिंह गुरुङले खेलाडीलाई सम्मान गर्ने यो सानो सुरुवात भएको र भविष्यमा बढाउँदै जाने बताए । ‘हामीले अहिले सानो सुरुवात गरेका छौं । उपलब्ध स्रोत साधनले भ्याएसम्म सम्मान गर्ने प्रयास गरेका छौं । भविष्यमा अझ बढाउँदै लैजानेछौं,’ गुरुङले भने ।
अध्यक्ष गुरुङले नेपालले छिटै फुल कोर्टको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्ने तयारीमा रहेको र उमेर समूहको साबा बास्केटबल पनि आयोजना गर्ने तयारीमा रहेको जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।