Main

पोखरा महानगरको स्पष्टीकरण : बालेनको गीत गाउँदा कर्मचारी सरुवा गरिएको होइन

३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।

बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् । एक टेलिभिजन कार्यक्रममा महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेकी थिइन् ।

महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैठौं तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

‘तीजको समयमा सधैं गीत निकाल्छु । अहिले बालेनको गीत निकालेपछि सरुवा भयो भन्ने हल्ला छ । तर हाकिम साबले मलाई केही भन्नु भएको छैन’, उनले भनेकी छन्, ‘अरु जिम्मेवार साथीहरुले चाहिँ भन्नुभएको छ । मैले पनि त्यही बुझेको छु, नत्र मेरो अपराध के छ ?’

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोति तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button