भोलिको संसदमा कांग्रेसले के गर्ला ?

१७ चैत, काठमाडौं । सभामुखको विदेश भ्रमणका लागि १० दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार बोलाइएको छ ।
भोलिदेखि लगातार चार दिन बैठक राख्ने र संघीय निजामती ऐनसहितका विधेयक/प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
तर भोलि आइतबारकै बैठक चल्ने नचल्ने अन्यौल देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।
संसदको अघिल्लो (७ चैत) मा बसेको बैठकमा पनि कांग्रेसले यो माग राख्दै भनेको थियो, ‘आउँदो संसदमा सरकार पक्ष समिति बनाउन मानेन भने यो सदन उहाँहरुलाई चाहिएको रहेनछ भनेर हामीले बुझ्नेछौं ।’
त्यसपछि संसद भोलि बस्दैछ । सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रमुख सचेतकहरु नै विदेश भ्रमणमा जाने भएपछि संसद १० दिनका लागि स्थगित भयो । यो १० दिनमा यो विषयमा दलहरुबीच कुनै सम्वाद नै भएन । कांग्रेसले समिति गठनको माग छाडेको छैन भने सत्तारुढ दलहरु संसदीय छानबिन समिति गठन आवश्यक नभएको बताएका छन् ।
शनिबार सभामुखले प्रमुख दलका प्रमुख सचेतक/सचेतकहरुसँग गरेको छलफलमा पनि यसबारे सहमति जुटेको छैन ।
सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतकहरुले सांसदीय छानबिन समिति आवश्यक नरहेको बताएका छन् ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले आफूले उठाएको विषय सही हो कि होइन भनेर कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए । सरकारलाई ३० दिनभित्र ढाल्छु भन्ने उद्देश्य निर्धारण गरेर सरकारलाई असहज बनाउन यो मुद्दा उठाएको भन्दै उनले भने, ‘प्रधानमन्त्री स्वीकार गर्न तयार भएको नेपाली कांग्रेसले गृहमन्त्री अस्वीकार गरेर छानबिन समितिको जे कुरा गरेको छ, यो राजनीतिक आग्रहबाट प्रेरित छ ।’
यद्यपि संसदमा प्रमुख प्रतिपक्षले उठाएको विषयलाई सरकारले गम्भीरताका रुपमा लिएर प्रधानमन्त्रीले समेत जवाफ दिइसकेको भन्दै उनले गृहमन्त्रीलाई पनि सुन्न आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने संसदमा जवाफ दिन तयार रहेको बताए । प्रतिपक्षले उठाएको विषयलाई प्रष्ट पार्नु सरकार र आफ्नो दलको पनि जिम्मेवारी रहेको भन्दै उनले भने, ‘हामी प्रमुख प्रतिपक्षले चाहेको कुनै पनि बेलामा जवाफ दिन तयार छौं ।’
तर कांग्रेस भने गृहमन्त्रीको जवाफ सुन्न तयार देखिएको छैन । कांग्रेसका एक सांसदका अनुसार भोलि कांग्रेसले संसद अवरुद्ध गर्न पनि सक्छ । किनकी संसदको अघिल्लो बैठकमा नै कांग्रेसले आफ्नो धारणा प्रष्ट पारसकेको र सत्तापक्ष समिति गठनका विषयमा छलफलका लागि पनि तयार नभएको उनको भनाइ छ ।
सभामुखले बोलाएको छलफलमा सहभागी कांग्रेस सचेतक सुशीला थिङले सदनलाई कसरी अगाडि बढाउने भनेर भोलि पार्टीका नेताहरुबीच छलफल हुने बताइन् ।
संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै रहेको भन्दै उनले भनिन्, ‘समिति नबेनसम्म संसद अवरुद्ध गर्ने कि आफ्ना मत राखेर केही दिन सदन चल्न दिने दुई विकल्प छ । यसबारे भोलि छलफल गर्छौं ।’
यद्यपि सभामुखले बोलाएको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक तत्काल पेश नगर्ने सहमति भएको छ । यो विधेयक गृहमन्त्रीले पेश गर्नुपर्छ ।
२ चैतमा सभामुखले गृहमन्त्री लामिछानेलाई यो विधेयक पेश गर्न समय दिए लगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरेको थिए ।
यो विधेयक भोलि आइतबार पेश गर्ने कि भन्ने पनि छलफल थियो । तर सभामुखले बोलाएको छलफलमा कांग्रेस सचेतक थिङले तत्काल पेश नगरौं भनेर प्रस्ताव गरिन् ।
सत्तारुढ दलका प्रमुख सचतेकहरु पनि यो विधेयक पेश गर्ने कार्यसूची २७ चैतलाई सार्ने सहमति भए । ‘सदनमा असहज वातावरण नहोस् भनेर यो विधेयक तत्काल नल्याउने सहमति भएको छ’, एक सत्तारुढ दलका प्रमुख सचेतक भन्छन्, ‘त्यसैले कांग्रेसले भोलि नै संसद अवरुद्ध नगर्ला भन्ने आश छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।