भ्रष्टाचारीका कानमा घण्टी बजोस् : बस्नेत

७ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले भ्रष्टाचारीका कानमा घण्टी बजाउन सरकारलाई सुझाव दिएका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सत्ता समीकरण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै उनले रुखको छहारी छोडेर घाम ताप्दै घण्टी बजाउन गएको टिप्पणी गरे ।
नेपाली कांग्रेसका युवा नेता बस्नेतले बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई बधाई दिँदै आफ्ना भनाइ राख्न सुरु गरेका थिए ।
त्यसक्रममा उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गर्नुभएको छ । त्यो घण्टी भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । घण्टी बजाउने क्रममा रालो नचुँडिओस् ।’ अहिलेको मन्त्रिपरिषद्ले जनतामा देखिएको निराशा र बादलहरू हटाएर आशाका किरणहरू छर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई फुटबलजस्तो ठानेको भनेर बस्नेतले आलोचना समेत गरे ।
धेरै गठबन्धन नफेर्न व्यंग्यात्मक शैलीमा सुझाव दिँदै उनले भने ‘मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । कहिलेकहीँ खुट्टा उचाल्ने क्रममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । यो नबिर्सिनुहोला ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।