भ्रष्टाचार नियन्त्रणको माग राखेर लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
९ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई स्वतन्त्र नागरिक मञ्चले ज्ञापनपत्र बुझाएको छ ।
भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्यूठानको एक प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताए ।
प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुदे निर्देशन जारी गरिसकेको मुख्यमन्त्री आचार्यले बताए ।
नागरिक तहमा बढ्दो निराशालाई आशामा बदल्नेगरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनका लागि नागरिक तहको साथ आवश्यक परेको उनले बताए ।
भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मञ्च प्यूठानका संयोजक कर्णध्वज केसीले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, सेवाको नाममा घुस र विकासको नाममा भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्नेगरी उच्चस्तरीय अनुगमन संयन्त्र बनाउन माग गरे ।
मन्चका सदस्य ओमभक्त पण्डितले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थाल्ने अभियानहरु प्रभावकारी बनाउन जरुरी रहेको, नागरिकतहबाट प्राप्त गुनासाहरुको सम्बोधन छिटोछरितो हुनुपर्ने बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।