पूजाको परिपक्व ब्याटिङ

२८ कात्तिक, काठमाडौं । यूएईको दुबईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाली टोलीकी टिमकी कप्तान पूजा महतोले मंगलबार कुवेत विरुद्ध शतक र ५ विकेट लिएर कीर्तिमान बनाइन् ।
कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गर्दा पूजाले सानदार अलराउण्ड प्रदर्शन गरिन् । ब्याटिङमा ६९ बलमा अविजित १३० रन बनाएकी पूजाले बलिङमा एक्लै ५ विकेट लिइन् ।
यू-१९ महिला क्रिकेटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली महिला क्रिकेट समेत बनिन् । उनले ५७ बलमा शतक पूरा गरेकी थिइन् । उनी एकै खेलमा शतक प्रहार गर्ने र ५ विकेट लिने पहिलो नेपाली महिला क्रिकेटर समेत बनिन् ।
पूजाको अविजित १३० रनसँगै उपकप्तान सोनी पाख्रिनको ४३ रन मद्दतमा नेपालले पहिले ब्याटिङ गर्दै २१३ रन बनाएको थियो । त्यसपछि बलिङमा पनि पूजाले ५ विकेट लिएपछि कुवेत १३ ओभरमै ४८ रनमा अलआउट भयो र नेपालले पराकिलो जित दर्ता गर्यो । पूजाले ४ ओभरमा १ मेडन राख्दै मात्र ८ रन खर्चेर ५ विकेट लिएकी हुन् ।
जारी छनोट प्रतियोगितामा पूजाले परिपक्क ब्याटिङ गरिरहेकी छन् । नेपालको सिनियर टिमबाट समेत २० टी-२०आई खेल खेलिसकेकी पूजाले त्यो अनुभवलाई अहिले भरपुर सदुपयोग गरिरहेकी छन् ।
पूजा उमेर समूहबाट आएकी होइनन् । सिधै राष्ट्रिय टिममा खेलेपछि उनले पहिलो पटक उमेर समूहबाट खेलेकी हुन् । त्यो पनि पहिलो पटकमै कप्तान बनिन् । यसअघि उनले मलेसियामा गएर महिला लिग समेत खेलिसकेकी छन् । जहाँ उनी उत्कृष्ट बलर घोषित भएकी थिइन् ।
सिनियर क्रिकेटमा पूजा महतो र रुबिना क्षेत्रीको जोडीको नाममा विश्व कीर्तिमान समेत छ । एसीसी वुमन्स प्रिमियर कपमा यो जोडीले पाँचौ विकेटका लागि ८२ बलमा अविजित १६६ रनको साझेदारी गरेका थिए । महिला टी-२०आईमा पाँचौ विकेटका लागि यो उच्च साझेदारी हो ।
युवा अवस्थामै ब्याटिङ र बलिङ दुवैमा परिपक्क प्रदर्शन गरेकी पूजाले नेपाली क्रिकेटको भविष्यमा राम्रो स्टार बन्ने संकेत देखाएकी छन् ।
छनोट प्रतियोगिता सुरु हुनुअघि यू१९ टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले सिनियर टिममा खेलिसकेकी पूजा कप्तान हुँदा टिमलाई धेरै फाइदा पुग्ने बताएका थिए । उनको अनुभव छनोटमा काम लाग्ने रिजालले बताएका थिए ।
प्रतियोगितामा उत्कृष्ट ब्याटिङ
सिनियर टिमको अनुभव बटुलिसकेकी युवा अलराउण्डर हुन् पूजा । उनले नेपालका लागि २० टी-२० आई खेलिसकेकी छन् । अहिले छनोट प्रतियोगितामा पनि अलराउण्ड प्रदर्शन गरिरहेकी छन् ।
सिनियर टिममा खेलिसकेपछि पूजाले पहिलो पटक उमेर समूहमा खेलेकी हुन् जहाँ उनले कप्तानी नै गर्दै आफ्नो टिमलाई लिड गरिरहेकी छन् । पुजाले पहिलो खेलपछि आफ्नो देशको लागि खेल्दै कप्तानी गर्न पाउनु गर्वको विषय भएको बताएकी थिइन् । ‘राष्ट्रको लागि नेतृत्व गर्दा राम्रो अनुभव हुन्छ । म नेपाल यू१९ महिला टिमको कप्तान भन्दा धेरै गर्व लाग्छ’, पुजाले दुबईबाट भनेकी थिइन् । उनले आफ्नो टिममेटको साथले गर्दा नै आफ्नो प्रदर्शन राम्रो भएको बताएकी थिइन् ।
विशेषगरी यस छनोट प्रतियोगितामा पूजाले ब्याटिङमा गज्जबको प्रदर्शन गरिरहेकी छन् । अहिलेसम्म खेलेको पाँच खेल मध्ये पूजाले चार खेलमा नेपालका लागि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।
पूजाले पहिलो खेलमा थाइल्याण्ड विरुद्ध सर्वाधिक ३५ रन बनाएकी थिइन् । यस्तै दोस्रो खेलमा कुवेतविरुद्ध पनि सर्वाधिक ३४ रन बनाइन् ।
तेस्रो खेलमा यूएईविरुद्ध पनी उनले सर्वाधिक ४८ रन बनाइन् । अर्धशतक बाट उनी २ रनले मात्र चुकेकी थिइन् । थाइल्याण्डविरुद्ध चौथो खेलमा भने पूजाको ब्याट चलेन । यस खेलमा सावित्री धामीले अर्धशतक बनाएकी थिइन् ।
पाँचौ खेलमा कुवेतविरुद्ध भने पूजाको ब्याटिङ परिपक्क रह्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न पुगेकी उनले अन्तिमसम्म नै क्रिजमा रहेर उत्कृष्ट ब्याटिङ गरिन् ।
नेपालले छनोटको अन्तिम खेलमा बुधबार अपराजित टोली यूएईसँग खेल्दैछ । यसअघि घरेलु टोली यूएईसँगको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । विश्वकपमा छनोट हुन नेपालले यूएईलाई राम्रो नेटरनरेटमा हराउनुपर्नेछ र त्यसमा पूजाको नेतृत्व र प्रदर्शन दुवै महत्वपूर्ण हुनेछ ।
अहिलेसम्म ५ खेलमा अपराजित यूएई १० अंकसहित शीर्ष स्थानमा छ । ४ जित र १ हारबाट ८ अंकसहित नेपाल दोस्रोमा छ । थाइल्याण्ड र कुवेत विश्वकप पुग्ने होडबाट बाहिरिसकेका छन् ।
यूएईविरुद्ध यसअघिको खेलमा देखिएको कमजोरी सुधार गर्दै आज जसरी पनि जितको लक्ष्यमा नेपाल हुनेछ । लयमा रहेकी पूजालाई अन्य खेलाडीले पनि ब्याटिङ र बलिङमा राम्रो साथ दिनुपर्नेछ ।
यू१९ विश्वकप पुग्न नेपालले पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा युएईलाई २१ रन वा बढीको अन्तरले हराउनुपर्नेछ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ ।
यी दुई अवस्थाभन्दा कम अन्तरको जीत आएमा वा नेपाल पराजित भएमा यूएई विश्वकप पुग्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।