राजन पुरिले जिते ब्लिज चेस उपाधि

८ असार , ललितपुर । प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि राष्ट्रिय शीर्ष खेलाडी राजन पुरिले शनिवार जितेका छन् ।
ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हार ब्यहोर्दै ८ अंक जोडे । उनले नगद ७ हजार, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनि रनासिंघे ललितपुर महा नगरपालिका वडा नं. ११ वाट प्रतिनिधित्व गर्दै महिला प्रथम भइन् । उनले नेपाली शीर्ष पुरुष खेलाडीहरुसंग कडा प्रतिस्पर्धा गर्दै ५.५ अंक जोडिन् ।
टंगल टोल द्वारा आयोजित प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने पूर्व नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल ७ जित, एक बराबर र एक खेलमा पराजित हुँदै ७.५ अंक जोडेर नगद रू ५ हजार , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ललितपुरका युवा खेलाडी सुरोज महर्जनले ७.५ अंक बनाएर तेश्रो स्थानमा रहे । उनले ४ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । समान ७.५ अंक हासिल गर्दै भक्तपुरका भेट्रान खेलाडी गणेशमान दुवाल चौथो स्थानमा रहे । उनीसंगै ललितपुरका लिना महर्जनले महिलातर्फ दोस्रो भइन् ।
ललितपुर महानगरपालिका बुद्धिचाल संघको सहयोग रहेको ब्लिज चेस खेलमा एफएम क्षितिज भण्डारी पाँचौ, सर्लाहीका गोविन्द पौडेल छैटौं, काठमाडौ मखनका प्रेमकृष्ण सातौं, ललितपुरका कमल श्रेष्ठ आठौं, काठमाडौका महेश्वर लाल डंगोल नवौं र काठमाडौका राजेन्द्र बज्राचार्य दशौं स्थानमा रहे ।
एकदिने बुद्धिचाल प्रतियोगितामा टोल विजेता प्रकाश राजकर्णीकार, प्रतीक रञ्जितकार दोस्रो र अर्जुन रञ्जितकार तेस्रो भए । पुरस्कार प्राप्त गर्नेमा अनरेटेड तर्फ द्रिका लामा प्रथम र राम कृष्ण भण्डारी द्वितीय बने।
यसैगरी ललितपुरका ५५ वर्ष माथि भेट्रान खेलाडी कृष्णमान महर्जनले भेट्रान प्रथम पुरस्कार पाए भने पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार दोस्रो भएका छन् । ललितपुर स्थानीय च्याम्पियन सानुभाइ बन्ने सौभाग्य महर्जनले प्राप्त गरेका छन्। उनले अन्तिम खेलमा राजु ताम्राकार माथि कठिन जित निकालेका थिए ।
युवा १८ मा सम्यक श्रेष्ठ , युवा १६ मा आर्यन अग्रवाल, युवा १४ मा अंकुर पोखरेल, अन्डर १८०० रेटिङ्गमा संगम श्रेष्ठ र अन्डर १६०० मा निर्जन मानान्धर अब्बल रहे ।
टंगल टोल सुधार समितिका अध्यक्ष शारदा चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेतालाई पुरस्कार प्रदान गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।