अफगानिस्तानविरुद्ध कप्तान देवको महत्वपूर्ण अर्धशतक
१२ माघ, काठमाडौं । नेपालका कप्तान देव खनालले आइसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।
देव ७३ बलमा ७ चौकासहित ५० रनमा क्रिजमा छन् । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।
देवको विश्वकपमा पहिलो अर्धशतक हो । नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए ।
खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे ।
नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।
स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । नासिर खानले दीपेश कँडेललाई २८ औं ओभरको चौथो बलमा ४ रनमा एलबीडब्लू आउट गरे । त्यसअघि अरब गुलको बलमा दीपक डुम्रे ५ रनमा क्याच आउट भएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।