टुँडिखेलमा सिप मेला (तस्वीरहरू)

१९ वैशाख, काठमाडौं । काठमाडौंको टुँडिखेलमा सिप मेला सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले ‘शिक्षालाई सिपसँग’,‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरेको हो ।
सिप मेलाको उद्घाटन बुधबार महानगरकी उपप्रमुख सुनिता डंगोलले सिलाई मेसिनमा लुगा सिलाएर गरेकी छिन् ।
‘पहिलो दिन मेलाको उद्घाटन मात्रै भएको छ । भोलिदेखि तालिम नै सुरु हुन्छ । तालिमका लागि चाहिने सबै सेट–अप भइसकेको छ,’ उपप्रमुखको सचिवालयले भन्यो ।
१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम दिने लक्ष्य महानगरको छ । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ्) सुनिश्चित गरिएको महानगरले जनाएको छ ।
रोजगारदाता, शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमूना कार्यक्रम रहेको महानगरको दाबी छ ।
महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम हुँदैछ । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको उद्देश्य रहेको महानगरले जनाएको छ ।
सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना बनाएको महानगरले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।