Main

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ : पूर्व बैंकर क्षेत्री

९ असार, काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको धारणा राखे ।

उनले खराब कर्जाको बढ्दो ट्रेण्डले वित्तीय संस्थाको नाफा, पूँजी कोष र तरलतामा प्रभाव परेको बताए । पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको क्षेत्रीको भनाइ छ ।

‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शिर्षकमा रकम बढ्दै गएको छ’ उनले भने ‘२०७६ मा गैर बैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ।’

यस्तै, उनले उनले पाँच वर्षको अवधिमा बैंकहरूको नाफा १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरूले अरबौं कमाए भनेर हल्ला भए पनि त्यो प्रतिफलको आधारमा न्यून  रहेको उनको भनाइ छ ।

२०८०को वित्तीय प्रतिवेदनअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै चार वटाको २ प्रतिशतभन्दा कम र तीन वटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको तथ्यांक उनले प्रस्तुत गरे ।

बैंकको बिजनेस पनि एउटा चक्र भएकोले अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण बैंकिङ क्षेत्रमा दबाब सिर्जना भएको क्षेत्रीको भनाइ छ। ‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रशय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उनले भने । अब राष्ट्र बैंकले चालु पूँजी कर्जाको मार्गदर्शनमा पुनरावलोकनको विषयमा सोच्नु पर्ने  उनले बताए ।

यस्तै, बैंकको पूँजी कोष पनि ठूलो दबाबमा रहेको बताए । पूँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको उनले सुनाए । ‘जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर, आत्तिनु हुँदैन । अहिले पुँजी कोष कायम गर्न नसक्ने दुई बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, हाल बैंकहरूको ६ खर्ब ९२ अर्बको पूँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पूँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ,’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button