मन्त्री ज्वालासँग नैतिकता भन्ने चिज नै छैन : ओली

८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् ।
सरकार आफैंले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हुतीहाराको संज्ञा दिएका छन् ।
‘सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरि त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुती छ’ मंगलबार पार्टी कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने ।
१३ पुसमा ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको कारबाहीमा दुई युवाको मृत्यु भएको थियो । सरकारले गठन गरेको जाँचबुझ आयोगले दुई युवाको ज्यान जानुमा आन्दोलन भइरहेका बेला त्यहाँ पुगेका मन्त्री प्रकाश ज्वालाको पनि दोष रहेको देखाएको थियो । एमाले अध्यक्ष ओलीले आयोगले दोषी देखाएका मन्त्रीले पद नछाडेर लोकलाज पनि नराखेको बताए ।
‘जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सिर्जना भएको छ । मान्छेहरु घाइते भएका छन् । अनि त्यस्तो मन्त्री बसिरहन मिल्छ ? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ ? यो गठबन्धनले यही गरिराखेको छ । लोकलाज पनि छैन यो गठबन्धनलाई’, अध्यक्ष ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।