महंगो सेट बनाएर लोमान्थाङमा यसरी छायांकन हुँदैछ ‘एक्लो’

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला उपल्लो मुस्ताङमा छ । विज्ञान कथामा आधारित हुने यो फिल्मको छायांकनका लागि ५० लाख रुपैयाँ मूल्यको सेट तयार पारेको निर्माताले बताएका छन् ।
छायांकन थलोबाट केही ताजा तस्वीर प्राप्त भएका छन् । प्राप्त तस्वीरमा एकातिर सेट निर्माणको काम भइरहेको छ भने निर्देशक प्रदीप शाही, छायांकन बाबु श्रेष्ठ, बेलायती अभिनेता जेमी बेकनलाई पनि देख्न सकिन्छ ।
बेकन यो फिल्ममा सहनिर्माताको रुपमा छन् । एक साताअघि काठमाडौंको भद्रकालीमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकन गरेर निर्माण टिम मुस्ताङ प्रस्थान गरेको थियो ।
यो फिल्म मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायांकन गरिने छ । हाल उपल्लो मुस्ताङको लोमान्थाङमा छायांकन भइरहेको फिल्मलाई छुसेल, छुसाङ, कागबेनी, जोमसोम लगायत स्थानमा पनि छायांकन गरिने छ ।
मुस्ताङको छायांकनपछि भने निर्माण टिमले १५ दिनको समयतालिका मिलाएर काठमाडौंमा छायांकन गर्ने छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिंह ठकुरी, ऋचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन शिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज छन् ।
बाबु श्रेष्ठको छायांकन रहने यो फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन र प्रेम खड्काको प्रोडक्सन डिजाइन हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।