महन्थ ठाकुरलाई केशव झाको पत्र : अध्यक्षज्यू, विश्राम लिने हो कि !

१३ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीका महासचिव केशव झाले नेतृत्व छाड्न सुझाव दिएका छन् ।
पार्टीभित्र नेताद्वय ठाकुर र राजेन्द्र महतोबीच विवाद उत्कर्षमा पुगिरहेका बेला महासचिव झाले ठाकुरलाई पत्र लेख्दै पार्टीको गति बढाउन गियर चेन्ज गर्ने समय आएको बताए ।
‘आज १६ वर्ष भयो, मधेशको नेतृत्व यहाँले गरिराख्नुभएको छ । स्वःमूल्यांकन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्षज्यू ?,’ महासचिव झाले पत्रमा लेखेका छन् ।
उनले तराइ मधेश लोकतान्त्रिक पार्टी गठन गरेदेखि अहिले लोकतान्त्रिक समाजवादी पार्टी बन्दासम्म कहाँ चुकियो भनेर मधेशी जनतासामु स्वेतपत्र जारी गर्न पनि ठाकुरलाई आग्रह गरेका छन् ।
‘लोसपा अझै चारवटा पार्टी (तमलोपा, सदभावना, रामसपा, नेसपा) को लिगेसी बोकेको पार्टी हो । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भागबण्डा गरेर पार्टी बलियो बनाउने कार्य भइरहेको छ भने भागवण्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि ?’ उनले भनेका छन् ।
महासचिव झाले पार्टीको गति बढाउन अब गियर चेन्ज गर्ने बेला आएको भन्दै अध्यक्ष ठाकुरलाई सुझाव दिएका छन्, त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्ष ज्यू ?’
मधेशको राजनीतिक आन्दोलन अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन नसकेको भन्दै झाले त्यसकै कारण मधेशमा मधेशी पार्टीहरू कमजोर भएर पुरानै एमाले, कांग्रेसजस्ता पार्टीहरू बलियो भएको समेत उल्लेख गरेका छन् ।
‘जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला अध्यक्ष ज्यू । नभए जसरी हाम्रो पार्टी निष्प्राण हुदै छ विस्तारै सबैले छोडेर जानेछ’, महासचिव झाले भनेका छन् ।
सीमित व्यक्तिको अवसरवादका लागि क्रान्तिको दियो निभ्न दिन नहुने भन्दै उनले मधेशी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायसँग हातेमालो गरेर बहुल राष्ट्रिय राज्यको उद्देश्य पूरा गर्न अगाडि बढ्ने बेला आएको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।