‘महाजात्रा’ हेरेपछि गृहमन्त्री : ‘राजनीतिज्ञको रुपमा फिल्म हेर्दा ऊर्जा थपियो’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दर्शकसँगै बसेर फिल्म ‘महाजात्रा’ हेरेका छन् । फिल्म हेर्न उनी आइतबार बेलुका पत्नी निकितालाई लिएर क्यूएफएक्सको लबिम हल पुगेका थिए ।
आफू यो श्रृंखलाको नियमित दर्शक भएको लामिछानेले बताए । ‘मलाई यो श्रृंखलाका अघिल्ला दुई फिल्म मन परेको थियो । फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ,’ लामिछानेले भने ।
फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको भन्दै उनले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए ।
‘मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे ।’ उनले आफू र आफ्नो पुस्ताका नेताको उदय भ्रष्टाचार र बेथितिलाई कम गर्न भएको बताए ।
‘हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्टाचार गर्ने नेताको सायदै देखिएलान्,’ उनले भने ।
शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मलाई शनिबार पूर्वरानी कोमलले पनि हेरेकी थिइन् । फिल्मले पहिलो सप्ताहन्त र होलीको दिनमा राम्रो कमाइ गरेको जनाइएको छ ।
निर्देशक प्रदीप भट्टराई, कलाकारहरु विपिन कार्की, रविन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री लगायत हलहलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
दर्शक प्रतिक्रिया लिइरहेका अभिनेता बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई रुचाएको बताए । ‘उपप्रधानमन्त्रीज्यूले हाम्रो फिल्मलाई हलमै आएर हेरेपछि दिनुभएको प्रतिक्रिया हाम्रो लागि ऊर्जाको विषय हो,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।