Main

गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १३ देखि

१५ फागुन, काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण आगामी चैत १३ गतेदेखि हुने भएको छ ।

नेपाली राजनितीका निष्ठावाना नेताका रुपमा सुपरिचित लौह पुरुष गणेशमान सिंहको स्मृतिमा हुँदै आएको यस प्रतियोगिता चैत १३ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपकको कभर्डहलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए ।

पाँच दिन सम्म चल्ने प्रतियोगिता पुरुषतर्फ ५१ केजी, ५७ केजी, ६३.५ केजी, ७१ केजी, ८० केजी, ९२ केजी र ९२ केजी भन्दा माथिको तौल तथा महिलातर्फ ५० केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६६ केजी र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली (प्रहरी,आर्मी,एपीएफ) र सातै प्रदेश गरी १० टिमबाट करिब १ ५० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका संयोजक तुलाधरले जानकारी दिए ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७ हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ । यसैगरी यस पटकबाट उत्कृष्ट प्रशिक्षक र रेफ्री पनि घोषणा गरिने भएको छ ।

गणेश मान सिंह फाउण्डेसनका बोर्ड सदस्य रहेका प्रभाषमान सिंह प्रतियोगिताको संयोजकको रुपमा छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्ने छ ।

प्रतियोगिताको आयोजककै रुपमा रहेको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता अहिलेसम्म धेरै राम्रोसँग आयोजना हुँदै आएको र यसलाई अझ सफल र भव्य रुपमा सम्पन्न गर्न सबै साथ र सहयोग रहने विश्वास व्यक्त गरे । ‘अहिलेसम्म यो प्रतियोगिता धेरै राम्रोसँग भएको छ । यसलाई अझ राम्रो बनाउनुपर्छ र सबैको साथ र सहयोग चाहिन्छ’ अध्यक्ष अवालेले पत्रकार सम्मेलनमा भने, ‘यसबाट उत्कृष्ट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा भाग लिनका लागि पनि कोसिस गर्नेछौँ । सबैजना अनुशासित भएर राम्रोसँग प्रतियोगिता खेल्नुपर्छ ।’

सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमि दौड आगामी वर्ष वैशाख १५ गते हुने जानकारी पनि गराइएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button