Main

महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी २५ हजार धरौटीमा रिहा

१४ फागुन, काठमाडौं । रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी वृत्त, स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दले अनलाइनखबरलाई बताइन् । उनका अनुसार, अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।

न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ माघको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो ।

पीडितले दिएको जाहेरी अनुसार, उनी शौच गर्न बसेका बेला केसीले शौचालयको पर्खालमाथिबाट अश्लील तस्वीर खिचेका थिए । पक्राउ परेपछि प्रहरी नियन्त्रणमा रहेकै बेला ‘फेसबुक डिएक्टिभ’ गर्न भन्दै मोबाइल मागेर उनले फम्र्याट गरेको समेत अनुसन्धानका क्रममा देखिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केसीले ८ फागुनमा बेलुकी ७ः२० बजे श्रीमतीको नम्बर निकाल्नु प¥यो भन्दै प्रहरीलाई भनेका थिए ।

‘मैले गरेको गल्तीबारे विभिन्न पत्रपत्रिकामा आइसक्यो, मेरो फेसबुक आईडीबाट मेरो तथा परिवारको फोटो तारेर मिडियामा हाल्नसक्ने हुँदा व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुपर्‍यो भनेर अनुरोध गरेका थिए’, प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवले भनेका छन्, ‘डीएसपी भएकाले विश्वास गरेर मोबाइल दिँदा उनले बरामद भएको मोबाइलको सम्पूर्ण डाटा तथा प्रमाणहरु नष्ट गर्ने मनसायले बदनियतपूर्वक मोबाइल फम्र्याट गरे ।’

यसपछि प्रहरीले मोबाइलको डाटा रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

केसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अश्लील किताब, पर्चा इत्यादी बनाउन वा बिक्री गर्न नहुने कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button