खरबुजालाई जालीदार पेन्टी !

काठमाडौं । खेतीपाती गर्ने किसानले सागसब्जी वा फलफूललाई राम्रोसँग फलाउनका लागि नयाँ–नयाँ तरिका अपनाउँछन् । पर्याप्त मलखाद, जमिनको खनजोत, सिँचाइदेखि बालीनालीको स्याहारसुसार भयो भनेमात्रै उत्पादन राम्रो हुन्छ । तर चीनका एकजना किसानले चाहिँ खरबुजा राम्रोसँग फलाउन यी सबैभन्दा फरक उपाय अपनाएका छन्, जुन ठूलै चर्चाको विषय बनिरहेको छ ।
वास्तवमा ती किसानले आफ्नो बारीमा फलाएका खरबुजामा महिलाले लगाउने जालीदार पेन्टी लगाइदिने गरेका छन् ।
आखिर कसैले किन खरबुजाका फलमा महिलाका अण्डरवेयर पहिराइदिन्छ होला ? के यो कुनै आर्ट हो वा साजसज्जा ? यसको कारण थाहा पाउँदा तपाईंले ती किसानको आइडियाको तारिफ गर्नुहुन्छ सायद ।
तारबार फैलिएको झ्यांगमा फलेको खरबुजाको वजनका कारण बोट सहित खरबुजा भुइँमा नलत्रियोस् भन्नका लागि उनले खरबुजालाई महिलाको अण्डरवेयर लगाइदिएर उक्त अण्डरवेयरलाई तारमा अड्काइदिने गरेका छन् । यसो गर्दा फल भुइँमा खस्न पाउँदैछ र राम्रोसँग हुर्किने अनुभव उनको छ ।
त्यसो त यसरी खरबुजालाई टेको लगाउनकै लागि महिलाको अण्डरवेयर नै किन लगाइदिनु पर्थ्यो र ? कुनै झोला वा अरु कपडाको प्रयोग गरेपनि त हुन्थ्यो ।
यसमा पनि उनका आफ्नै तर्क छन् । महिलाका जालीजार अण्डरवेयर मुलायम हुने र त्यसले फलका लागि आवश्यक अक्सिजनको प्रवाह पनि नरोक्ने भएकाले खरबुजामा पहिराइदिनु निकै फाइदाजनक हुने उनको दाबी छ ।
खरबुजामा महिलाका अण्डरवेयर लगाइदिएको तस्वीर सोसल मिडियामा भाइरल भएसँगै त्यसमा अनेक खालका प्रतिक्रियाहरु आएका छन् । एकजनाले लेखेका छन्– अण्डरवेयर ट्याग सहितको रहेछ । धन्न त्यो नयाँ नै हो भन्नेमा ढुक्क भइयो ।
–डेलीस्टारबाट
– यस समाचारको श्रोत : Online Khabar हो ।