‘राजमान हर्क साम्पाङ जस्तै होस् भन्ने कीर्तिपुरवासीको चाहना छ’

स्वतन्त्रबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका राजमान मानवको चर्चा धरानका मेयर हर्क साम्पाङको उपस्थितिले चुलिएको छ । साम्पाङको साथ पाएर उनी उत्साहित पनि छन् । अझ अगाडि बढेर काठमाडौंका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन जुटाउने प्रयास गरिरहेको बताउँछन् ।
राजनीतिकभन्दा ‘पक्कै सफा छ, यदि तपाईं फोहोर गर्नु हुन्न भने’ जस्ता सामाजिक नारा र एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका उनै मानवसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको संक्षिप्त कुराकानी :
अरू उम्मेदवार प्रतिबद्धता पत्र बोकेर हिंडिरहेका छन्, तपाईं ब्रुमर बोकेर हिंडिरहनुभएको छ नि !
हो, म ३६५ दिन र २४ सै घन्टा ब्रुमर बोकेरै हिंड्छु । मेरो अन्तिम इच्छा भनेकै बढारिरहेकै बेला शरीर छाड्ने हो । यसमा प्रकृतिले मलाई के गर्छ थाहा छैन । तर, म ३६५ दिन नै जहाँ पुगे पनि बढारेर हिंड्छु । सुत्ने बेला मात्र मसँग यो बढार्ने हुँदैन । २०६७ साल भदौ महिनादेखि मैले यो काम गरिरहेको छु । अहिलेसम्म निरन्तर छु । म बाँचुञ्जेल बढारिरहन्छु ।
सरसफाइ सम्बन्धी अभियान चाहिं किन सुरु गर्नुभएको थियो ?
मैले काठमाडौं उपत्यका र कीर्तिपुर एकदमै फोहोर देखें । सांस्कृतिक र ऐतिहासिक शहर भए पनि फोहोरका कारण मानिसहरूलाई यसको महत्व बुझाउन नसकिएको जस्तो लाग्यो । त्यसपछि फोहोर देखेपछि यसलाई सफा गर्नुपर्छ भन्ने जनताको इच्छा, कामना र भावना भएकाले यसमा म जीवनभरि लाग्छु भनेर प्रकृतिको आवश्यकता अनुसार सफाइ अभियानमा लागेको हुँ ।
सरसफाइ अभियान चलाएर समाजमा एउटा सन्देश दिइरहेको व्यक्तिलाई अहिले मेयरमा चुनाव लड्नुपर्ने अवस्था चाहिं किन आइलाग्यो ?
अहिले नेपालमा जहाँतहीं अव्यवस्था र अस्तव्यस्तता भयो । त्यसपछि यसलाई व्यवस्थित गर्न सकिन्छ भन्ने लाग्यो । त्यसका लागि नगरपालिका उपयुक्त ठाउँ हुनसक्छ भन्ने मलाई लाग्यो । अर्को कुरा अहिले जनतामा निराशा छ । त्यो निराशालाई मेट्न र आशा जगाउनका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।
मलाई लाग्छ, जसरी अहिले काठमाडौं, धरान र धनगढीका मेयरहरूले नेपाल बन्छ भन्ने सन्देश दिने गरी काम गरिरहनुभएको छ, मैले पनि निर्वाचित भएको १०/१५ दिनमा त्यही किसिमको सन्देश जाने गरी काम गर्नेछु ।
हर्क साम्पाङ तपाईंलाई सहयोग गर्न कीर्तिपुरमै आउनुभएको छ, कुलमान घिसिङले पनि तपाईंलाई भेट्नुभएको भन्ने सुनेका छौं, यसले तपाईंको चुनावी अभियानलाई कत्तिको फाइदा गर्ला ?
हर्क साम्पाङ हिजोदेखि मेरो चुनावी अभियानमै हिंडिरहनुभएको छ । कुलमानजीको सवालमा मलाई त्यति धेरै थाहा छैन । तर, एकपटक उहाँसँग मेरो बाघभैरवमा भेट भएको थियो । त्यसबेला मैले एक कप चिया खुवाएको हुँ । त्यत्ति मात्रै हो ।
तपाईंहरू स्वतन्त्र उम्मेदवार पनि ११ जना हुनुहुँदोरहेछ, अरू मुख्य राजनीतिक दलका उम्मेदवार त छँदैछन् । यस्तोमा तपाईंलाई आफ्नो प्रमुख चुनौती को हो भन्ने लाग्छ ?
स्वतन्त्र ११ जना भनेको सबै स्वतन्त्र छैनन् । कोही पार्टीका बागी उम्मेदवारहरू हुनुहुन्छ । कोही पार्टीलाई मतदान केन्द्र अथवा मत गणनामा राख्ने आफ्नो एजेन्टहरू छन् । उहाँहरूले आफ्नो किसिमको केही धाँधली गर्न सकिन्छ कि भन्ने मानसिकता भएकाले डमी उम्मेदवारहरू छन् ।
त्यसकारण स्वतन्त्र उम्मेदवार छैन भन्ने लाग्छ । अरू स्वतन्त्र उम्मेदवार नै छैनन् । एक जना अधिवक्ता साथी नरेश श्रेष्ठ हुनुहुन्थ्यो । तर, उहाँले पनि मलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । यस्तोमा स्वतन्त्र उम्मेदवार भनेकै म मात्र हुँ ।
मैले चाहिं अहिलेसम्म जनतासामु जाँदा ९० प्रतिशत जनताले यो पटक दललाई भोट नदिने भन्नुभएको छ । त्यसैले मलाई लाग्छ मेरो प्रतिस्पर्धा सायद कोहीसँग नहुन सक्छ ।
अहिले जनतासामु जाँदा के भनेर भोट मागिरहनुभएको छ ?
मैले जम्मा दुई वटा विषय भनेको छु । एउटा चाहिं काठमाडौंभित्र पनि कीर्तिपुर अझ संस्कृतिको धनी ठाउँ हो । यहाँ ३६५ दिन नै एउटा कुनै न कुनै ठाउँमा जात्रा पर्व भइरहेको हुन्छ । यहाँ गोपाल वंशदेखि अहिलेसम्मको जे संस्कृति र परम्परा छ, त्यसलाई एककिसिमले सजावटमा राखेर कीर्तिपुरलाई नयाँ किसिमको सांस्कृतिक शहर अथवा संसारकै फरक ढंगको शहर बनाउने मेरो परिकल्पना छ ।
संसारकै निम्ति फरक किसिमको संस्कृतिको शहरका रूपमा कीर्तिपुरलाई विकास गर्ने हो । अमेरिकाको न्यूयोर्क, जापानको टोकियो भनौं वा अरू, ती शहरका बेग्लाबेग्लै विशेषताहरू छन् । कीर्तिपुर पनि तिनीहरू जस्तै बेग्लै विशेषता भएको शहर बन्छ ।
बालेनसँग पनि तपाईंको संवाद भइरहेको छ भन्ने सुनिएको छ । खास कुरा के हो ?
एकदम धेरै नै सहयोग पुग्छ भन्ने विश्वास लिएको छु । उहाँहरू जस्तो महान् मान्छेहरू आएर कीर्तिपुरका जनतालाई उहाँहरूले धरानमा जुन कार्य देखेर सम्पूर्ण नेपालका जनता खुशी छन् त्यसकारण उहाँ आएपछि कीर्तिपुरका जनताले सबैको इच्छा, चाहना उहाँ जस्तै म पनि होस् भन्ने उहाँहरूको चाहना छ । मलाई केही बनाउनका लागि उहाँ चाहिं आउनुभएको छ । मैले बालेनको सवालमा अहिलेसम्म उहाँसँग कुरा गरेको छैन, भेट भएको छैन । यद्यपि, उहाँले पनि सहयोग गरिदिनुभए हुन्थ्यो ।
अनि, तपाईंंले उहाँ निकटस्थहरूसँग संवाद गरिरहेको भन्ने बाहिर आएका थिए नि !
मेरो विचारमा उहाँलाई मेरो कार्यक्रम, अभियान र सबै विषयमा केही जानकारी छ भन्ने मैले ठानेको छु । त्यसकारण मलाई लाग्छ, यो विषयमा उहाँले पनि एक दिन बोल्नुहुन्छ ।
अघिल्लो पटक चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकदमै धेरै चर्चा थियो । यसपटक कीर्तिपुरमा उठाउनलाई उपयुक्त उम्मेदवार नै नपाएको भनेको छ । यस्तोमा उहाँहरूले तपाईंसँग कुनै संवाद गर्नुभएन ?
उहाँहरूको पनि मलाई सहयोग छ । केन्द्रीय कमिटीले पनि एउटा निर्णय गरेको थियो । तर, मेरो विचारमा कीर्तिपुरकै तहमा केही आन्तरिक विषयमा नमिलेकाले उहाँहरूबाट आधिकारिक धारणा आएको छैन । एक/दुई दिनमै उहाँहरूबाट स्पष्ट दृष्टिकोण आउला ।
जनताको घर–घरमा जाँदा चाहिं कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
म जति पनि कीर्तिपुरवासीकहाँ पुगेको छु, कसैले मेरो विरोध गर्नुभएको छैन । बरु स्थानीय गाउँ–ठाउँमा काम गरिरहेको व्यक्ति भएकाले सबैले स्याबासी दिनुभएको छ । जिताउँछौं भन्नुभएको छ । उत्साहित छु ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।