एमालेको लमजुङ जिल्ला कमिटी अध्यक्षमा विष्ट निर्वाचित

१९ चैत, लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।
कमिटिको नवौं जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए ।
यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।
उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले २४२ मत प्राप्त गरे भने पौडेलले २३७ मत प्राप्त गरे ।
त्यस्तै, सचिवमा जनकराज मिश्रलाई २३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहरा निर्वाचित भए । राजेन्द्रले ३५८ र मिश्रले ११९ मत प्राप्त गरे । उपसचिवमा राजेन्द्र अधिकारीलाई १२० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भए । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले १२९ मत प्राप्त गरे ।
उपसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् । आइतबार भएको मतदानमा ५३२ जना सहभागीमध्ये ५०६ जना सहभागी भएका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।