Main

भीमफेदीका अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

१३ माघ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

शनिबार सामाजिक सुरक्षा योजना सुरूवात गर्दै गाउँपालिकाले ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रूपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रूपैयाँ गरी २ हजार २०४ रूपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको थियो ।

सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button