महावीर समूहको चन्दा विवादमा मारिए जयप्रकाश

९ कात्तिक, काठमाडौं। ४ कात्तिकको राति पौने ९ बजेतिर कपिलवस्तुको बिजयनगर गाउँपालिका-२ खडैचा भैसीघास्थित चिरई खोलाको किनारमा एउटा शव फेला परेको भन्दै कपिलवस्तु प्रहरीलाई खबर आयो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट डीएसपी मोहनमणि अधिकारी र इलाका प्रहरी कार्यालय गणेशपुरबाट इन्सपेक्टर हर्षबहादुर चन्दको टोली घटनास्थल पुगेको थियो। तालिमप्राप्त सोको अफिसरसहित पुगेको टोलीले शव उत्खनन् गर्यो ।
कम्मरदेखि माथिको भाग बालुवाले छोपिएको, खैरो रंगको ट्राउजर र जुत्ता लगाएको, गाढा निलो रंगको धर्का भएको बटनवाला सट लगाएको अधवैंशे पुरुषको शव भेटिएको थियो ।
शव सड्न सुरु गरेकाले केही दिनअघि नै हत्या गरेर फालेको हुनसक्ने आशंका प्रहरीको थियो । पछि अनुसन्धानका क्रममा खुल्यो, मृत भेटिएका ती व्यक्ति दिनेश भनिने जयप्रकाश यादव ।
कपिलवस्तु नगरपालिका-१० तेनुवाका ४५ वर्षीय उनी नेकपा माओवादीको महाविर समूहमा आबद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्यो। उनी महाविर समूहको कपिलवस्तु जिल्लाको इलाका नं. १० विजयनगर गाउँपालिकाका इन्चार्ज समेत थिए। पार्टीको नाम कमरेड परिवर्तन ।
‘मृतक व्यक्ति महावीर समूहमा लागेको खुलेपछि हामीले सोही अनुसार अनुसन्धान अघि बढायौं । जसक्रममा महाविर समूहै नेताहरु पक्राउ परे’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले अनलाइनखबरसँग भने।
प्रहरी अनुसन्धानका क्रममा अहिले महाविर समूहकै कपिलवस्तु जिल्ला इन्चार्ज र महिला विभाग प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा (माओवादी) महावीर समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी कमरेड भूमी भनिने रमेश श्रेष्ठ र कपिलवस्तु कै महिला विभाग प्रमुख कमरेड गीता भनिने मनकला थारू पक्राउ परेका छन्।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ सेरनाका ४६ वर्षीय भूमी र कपिलवस्तुकै वाणगंगा नगरपालिका–२ तिनैयाकी ४६ वर्षीय गीताले चन्दाको विषयमा विवाद भएपछि परिवर्तनको हत्या गरेको खुलेको एसपी भट्टले बताए।
अहिले प्रहरी हिरासतमा रहेका भूमी स्नातक पास व्यक्ति हुन् भने गीता साधारण लेखपढ गर्न सक्ने व्यक्ति रहेको खुलेको छ। एसपी भट्टका अनुसार परिवर्तन हत्याको मुख्य योजनाकार भूमी नै हुन् । उनकै योजनामा दुई जना मिलेर हत्या भएको प्रहरीको भनाइ छ ।
मृतक र पक्राउ परेका गरी तीनै जना महाविर महासचिव रहेको नेकपा-माओवादी) समूहमा आबद्ध रही केन्द्रीय निर्देशन अनुसार न कपिलवस्तुमा अवैधमा रुपमा चन्दा उठाउन सुरु गरेका थिए । कपिलवस्तुको नेतृत्व हाल पक्राउ परेका भूमीले गरेको हुनाले उनैले व्यक्ति परिचालित गर्दै कपिलवस्तुमा चन्दा संकलन गर्दै आएका थिए ।
प्रहरीका अनुसार चन्दा नदिई यो समूहले ज्यान मार्ने समूहको धम्की समेत व्यापारीहरुलाई दिने गरेको थियो। सोही अनुसार उनीहरुले कपिलवस्तुलाई १० वटा इलाकामा विभाजन गरेका थिए ।
जसमध्ये १० नम्बर इलाकाको रुपमा छुट्याइएको विजयनगर गाउँपालिकाको क्षेत्रको इन्चार्जको रुपमा मृतक परिवर्तन थिए । परिवर्तनले आफ्नो क्षेत्रबाट उठाएको चन्दा हिनामिना गरेको र पार्टीलाई हिसाब नबुझाएको आरोप लागेको थियो ।
‘सेक्रेटरी भूमिले पटक-पटक हिसाबकिताब बुझाउन भन्दा पनि नबुझाई चन्दा हिनामिना गरेको भन्दै हत्या गरेको देखिन्छ’ एक अनुसन्धान अधिकृतले भने।
त्यसपछि २ कात्तिकमा हाल पक्राउ परेका भूमीको नेतृत्वमा आबद्ध रहेकी गीता सहित ९/१० जना शव भेटिएको अर्थात वरदाता स्थलमा भेला भएका थिए । त्यतिबेलै परिवर्तनलाई धारिला हतियार र सिमेन्टको पोलको खम्बामा समेत टाउको ठोक्काएर हत्या गरेको खुलेको एसपी भट्ट बताउँछन् ।
परिवर्तनको हत्यापछि शव बालुवाले छापेर उनीहरु फरार भएका थिए। प्रतिवादीहरुबाट प्रहरीले सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेविक)को इतिहास सम्बन्धी पुस्तक र महासचिव महाविरको हस्ताक्षर भएको आर्थिक सहयोग सम्बन्धीको पत्र समेत बरामद गरेको छ। त्यसैगरी बिस्फोटक पदार्थ कसरी बनाउने भन्नेबारे उल्लेख भएको डायरी समेत बरामद भएको प्रहरी बताउँछ।
घटनामा अन्य व्यक्ति पनि संलग्न रहे पनि उनीहरु फरार छन्। महाविर समूह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएर गठन भएको खुलेको थियो। यसको महासचिवको पूरा नाम समेत प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।