Main

माधव नेपालले गरे फिल्म ‘नमेटिने घाउ’को डबिङ

काठमाडौं । फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर नेपालले स्वरांकन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी साता डबिङ गर्ने निर्देशक तथा निर्माता रमित ढुंगानाले जानकारी दिए । ‘डबिङका लागि प्रधानमन्त्रीज्यूसँग समय मागिएको छ । सम्भवतः एक साताभित्र गर्ने तयारी छ,’ ढुंगानाले भने ।

यो फिल्ममा नेता नेपालले एसिड आक्रमणको घटनाविरुद्ध प्रतिबद्धता व्यक्त गर्ने नेताको भूमिकामा अभिनय गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

दुवै नेताले दुई महिनाअघि फिल्मको छायांकन गरेका थिए । पोस्ट प्रोडक्सनमा काम भइरहेको यो फिल्ममा ३३ जना एसिड आक्रमणका पीडितको कथालाई समेटिएको छ । वास्तविक घटनामा आधारित यो फिल्मले एसिड आक्रमणको घटनाविरुद्ध सन्देश दिने निर्देशक ढुंगानाको भनाइ छ ।

फिल्ममा शिवम् अधिकारीको कथा छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।

फिल्ममा सुरवीर पण्डित र सुनिल कटुवालले पनि अभिनय गरेका छन् । रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत २०० जना भन्दा बढी प्रहरीको अभिनय छ ।

यो फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय छ । फिल्ममा नीरज कँडेलको छायांकन, बनिष शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन कोरियोग्राफी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button