मानापाथी हिमालमा हिमपहिरो, थासाङमा बोक्सीखोला थुनियो (भिडियोसहित)

७ भदौ, काठमाडौं । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका-२ मा बग्ने बोक्सीखोला थुनिएको छ ।
गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापानी हिमालमा गएको हिमपहिरो मूलकर्ख हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाइचरण हो’, उनले भने, ‘मानवीय क्षति त छैन, गाईहरुलाई केही भयो कि भन्ने छ ।’
हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।
‘सम्पूर्ण खोला थुनिएको हो, करिब ८० प्रतिशत जस्तो थुपिएको छ’ उनले भने, ‘एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०÷१२ घरमा क्षति पुग्नसक्छ । हामीले सतर्क गराएका छौं ।’
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ । उनले अनलाइनखबरसँग भने, ‘विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।