‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट जाँदै आयुष्नोभा
काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना हुने प्रतियोगिताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगिताको उनी नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगिताका लागि उनले राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन् ।
‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको ढुङ्गानाले बताइन् । ताज नेपाल ल्याउने उद्देश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उनको भनाइ छ ।
‘प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु’, ढुङ्गानाले भनिन्, ‘नेपालको नाम उचो गरेर फर्किन्छु ।’
प्रतियोगिताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्राकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरन लगायत कलासंस्कृति समेत झल्काएकी छन् ।
‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि विजेता समेत रहेकी डा. ढुङ्गाना मोडल पनि हुन् । पेशाले उनी चिकित्सक हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।