गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

५ जेठ, ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालित उपत्यकाब्यापी अन्तरपालिका मेयर कप खुला फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरले उपाधि जितेको हो ।
काठमाडौंका लागि अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरे । उपाधि बिजेता काठमाडौंले ५ लाख रुपैयाँ र उपबिजेता चन्द्रागिरीले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका अखिलेश कार्की भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार नगद पुरस्कार पाए । अनुशासित टिम बनेको महालक्ष्मी नगरपालिकाले ५० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी कीर्तिपुरका यमन मर्हजन भए । उनको टिम क्वार्टरफाइनलमै पराजित भए पनि उनले ६ गोल गरेका थिए । तारकेश्वर नगरपालिका विरुद्ध ह्याट्रिक गरेका उनले क्वार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।
प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङले जिते भने उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी भए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए । उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पाए ।
१५ वैशाखबाट सुरु भएको खेलमा उपत्यकाभित्रका १४ पालिकाका १५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । गोदाबरी नगरपालिकाले ए र बी गरी दुई टिम सहभागी गराएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।