यस्तो छ नेपाली फिल्म ‘गोर्खा वारिअर’को दक्षिण कोरियाली पोस्टर

काठमाडौं । नेपाली फिल्म ‘गोर्खा वारिअर’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । वितरण कम्पनी मुभमेन्ट पिक्चर कर्पोरेसनले फिल्मको कोरियाली संस्करणको पोस्टर सार्वजनिक गरेको छ ।
निर्देशक मिलन चाम्सका अनुसार यो फिल्म सन् २०२४ भित्र दक्षिण कोरियामा सार्वजनिक प्रदर्शन हुनेछ । कोरियाली भाषामा स्वरांकन भएको फिल्मलाई त्यहाँ अंग्रेजी सबटाइटलमा रिलिज गरिँदैछ ।
पहिलोपटक कुनैपनि नेपाली फिल्म कोरियाली भाषामा रिलिज हुन लागेको हो । वार जनराको फिल्म भएकाले मुभमेन्ट पिक्चरले चासो देखाउँदै गतवर्ष यसको वितरण अधिकार खरिद गरेको थियो । मिनिमम ग्यारेन्टी (एमजी) सर्तमा फिल्मको अधिकार उक्त कम्पनीले खरिद गरेको थियो ।
‘कोरियाली वितरण कम्पनी वारका फिल्ममा चासो राख्दा रहेछन् । उनीहरुको यो चासोअनुसार नै फिल्म त्यहाँ प्रदर्शन हुन लागेको हो’ निर्देशक चाम्सले भने ।
फिल्म रिलिजको समयमा निर्देशक चाम्स , अभिनेता रितेश चाम्स र निर्माता सुमन राई सियोल जाने भएका छन् । निकट भविष्यमा अफगान र बर्मा युद्धको कथावस्तुमा फिल्म बनाउन लागिएको जानकारी निर्देशक चाम्सले दिए ।
चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’ नेपालमा भदौ १४ गते प्रदर्शन तयारीमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।