Main

मोदीसँग सन्तुष्ट छैन आरएसएस !

२ असार, काठमाडौं । भारतको लोकसभा चुनावमा सत्तारुढ भाजपाको तुलनात्मक कमजोर नतिजासँग उसको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) असन्तुष्ट रहेको देखिएको छ ।

कतिपयले यसलाई नतिजापछिको असन्तोष नभई दिल्ली र नागपुरबीच केही वर्षयता सुषुप्त शक्तिको द्वन्द्वको प्रकटीकरणमात्रै मानेका छन् ।

नागपुर, जहाँ आरएसएस मुख्यालय छ । अनि दिल्ली, जहाँबाट नरेन्द्र मोदीले सरकार चलाउँछन् ।

आरएसएसका एक सयभन्दा बढी मातहत संस्था छन्, जसको राजनीतिक इकाई भाजपा अर्थात् भारतीय जनता पार्टी हो ।

१० वर्षअघि नरेन्द्र मोदी नेतृत्वमा सत्तारुढ बनेसँगै भाजपाले एक व्यक्तिको ब्रान्डिङमा सिंगो ऊर्जा खर्चेको, आफ्नो मूल शक्तिको स्रोत अर्थात् मातृपार्टी आरएसएसलाई उपेक्षा गर्न थालेको भन्दै संघ परिवार मोदी टिमसँग क्षुब्ध छ ।

यसको पछिल्लो दृष्टान्त आरएसएस प्रमुख मोहन भागवतले गरेको टिप्पणी हो, जसको बारेमा अहिले भारतमा विशेष चर्चा भइरहेको छ ।

मणिपुरको चुनावी अभियानमा भाजपा विपक्षीविरुद्ध उग्र रुपमा प्रस्तुत भएकोमा आरएसएसले आपत्ति जनाएको थियो ।

आरएसएसको बारेमा वरिष्ठ पत्रका दीप हल्दरले भनेका छन्, ‘आरएसएसले खुलेर नभनेको भए पनि भाजपा र उसको बीचमा केही समयदेखि नै नजानिंदो तनाव थियो भन्ने प्रकट भएको छ

आरएसएस प्रमुख भागवतले चुनाव प्रचार क्रममा दुई वर्षअघिको हिंसा फेरि भड्काउने किसिमका टिप्पणी भएकामा ध्यानाकर्षण भएको बताएका थिए । भारतीय मिडियाहरुका अनुसार उनले अघिल्लो सोमबार नागपुरमा भनेका थिए, ‘सरकारको काम शान्ति सुव्यवस्थालाई कायम गरिराख्नु हो, न कि उत्तेजित बनाउनु ।’

नागपुर मूख्यालयमा आयोजित कार्यक्रममा संघ प्रमुख भागवतले मोदी सरकारको नाम नलिई मर्यादामा बस्ने छाडेको भन्दै चेतावनी दिए । उनले सोमबारको उक्त कार्यक्रममा भने, ‘सच्चा सेवकले उग्र हुन सुहाउँदैन, उसको काम मर्यादामा बस्ने हो, मर्यादा कायम गराउने हो ।’ मणिपुरमा भने सरकारकै तर्फबाट संयम भड्काउन खोजिएको राष्ट्रिय स्वयंसेवक संघको विश्लेषण थियो ।

राष्ट्रिय स्वयंसेवक संघ प्रमुख भागवतको टिप्पणीपछि सत्तावृत्तमा खैलाबैला नै भएको बताइएको छ । टाइम्स नाउ लगायत भारतीय मिडियाले राष्ट्रिय स्वयंसेवक संघ प्रमुख भागवतले कसलाई संकेत गरेर चुनावी अभियान उग्र भएको बताएका हुन् भनेर बहस नै चलाएका थिए ।

राष्ट्रिय स्वयंसेवक संघले सन्चालन गर्ने अर्गनाइजर पत्रिकाले भाजपालाई लोकसभामा ओभरकन्फिडेन्ट अर्थात् अतिविश्वस्त भएर भिड्न जाने हुँदा क्षति बेहोरेको भन्दै आलोचना समेत गरेको छ ।

आरएसएसको बारेमा वरिष्ठ पत्रका दीप हल्दरले भनेका छन्, ‘आरएसएसले खुलेर नभनेको भए पनि भाजपा र उसको बीचमा केही समयदेखि नै नजानिंदो तनाव थियो भन्ने प्रकट भएको छ । राममन्दिरको निर्माणका कारण भोटमा केही उपलब्धि त भयो होला, खास कुरा चाहिँ पछिल्लो मोदी सरकारले आफ्ना निर्णय गराउँदा संघसँग परामर्श र समन्वय गर्न छाडेको थियो भन्ने कुरामा असन्तोष व्याप्त थियो ।’

खासमा संघले राजनीतिमा सिधा भूमिका खेल्दैन, बरु दिशानिर्देशसम्म गराउने हो । तर भाजपाले त्यही दिशानिर्देशका लागि समेत पुछ्न छाडेको भन्दै नागपुरमा असन्तुष्टि बढ्दो छ ।

आरएसएसका सदस्य समेत रहेका लेखक रतन शारदाले अहिले पनि भाजपा संसारकै ठुलो पार्टी रहेको भन्दै गल्ती कहाँ भयो भनी प्रश्न उठाएका छन् ।

आरएसएसको मुखपत्र अर्गनाइजरमा लेख्दै उनले भनेका छन्, ‘भाजपाका नेतामात्रै होइन, स्थानीय तहका कार्यकर्ताले समेत चुनावका लागि समन्वय गर्न आरएसएससँग वैचारिक सुझाव माग्ने, सँगै उम्मेदवार जिताउन लाग्नुपथ्र्यो । के उनीहरुले त्यसो गरे त ?’

भाजपाले पछिल्लो लोकसभा चुनावमा जाँदा तीनवटा आधार देखाउँदै मत मागेको थियो : मोदीको लोकप्रियता, राष्ट्रिय सुरक्षा र हिन्दु सभ्यताको फैलावटमा भाजपा सरकारले खेलेको भूमिका । अखण्ड भारतको सांस्कृतिक विरासत अघि बढाउन समेत मोदी नै नायक रहेको उसको बुझाई थियो, जबकि राष्ट्रिय स्वयंसेवक संघ भने मोदीलाई अति धेरै व्यक्तिपूजामा लगेर गल्ती भइरहेको ठान्थ्यो ।

मोदी २०१४ मा प्रधानमन्त्री बनेका थिए । आरएसएस प्रमुख भागवत उनीभन्दा पाँच वर्षअघि अर्थात् २००९ मै आरएसएस सरसंघचालक अर्थात् प्रमुख बनिसकेका थिए । मोदी पहिलोचोटि प्रधानमन्त्री लड्दैगर्दा भाजपाले भूमिसुधार, श्रमिकहरुको उन्नति, कृषि कानुनलाई किसानमुखी बनाउने जस्ता प्रगतिशील लाग्ने मुद्दासमेत उठाएको थियो । यस्ता मुद्दाको छनोटमा आरएसएसको समेत वैचारिक योगदान रहेको भन्ने गरिन्छ ।

यसपालि आरक्षण र कोटालगायत मुद्दामा भाजपा तारो बन्नुमा आरएसएससँग समन्वयबेगर यसका नेताहरु अघि बढ्न खोजेको कारणसमेत देखाइएको छ ।

आरएसएसका नेताहरूले अतिआत्मविश्वासका कारण चुनावमा लगभग पराजय भएको भन्दै आलोचना गरेका छन् । ‘आफैं जान्ने भएर भाजपा नेताहरु हिँडेको थाहा पाएपछि आरएसएसका सदस्यहरुले पहिलेजस्ता दिलोज्यान दिएर खटेनन्,’ इन्डिया टुडे, प्रिन्ट लगायत भारतीय मिडियाहरुले लेखेका छन् ।

भारत स्वतन्त्र हुनुभन्दा पहिल्यै सन् १९२५ मा खुलेको आरएसएसले हिन्दू आस्थाको राजनीतिकरण गर्दै दक्षिणपन्थी शक्तिका रुपमा उदायो । महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्से पनि यसका सुरुवाती कार्यकर्ता थिए । भारतमा कट्टरपन्थी विचार फैलाउँदै अल्पसंख्यकमाथि हावी बन्ने गरेको आरोप यसमाथि छ ।

-भारतीय प्रेसको सहयोगमा

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button