डुङ्गा किन्दै ललितपुर महानगर
२४ असोज,काठमाडौं। बाढीको कारण डुबान परेका बस्तीमा उद्धार गर्न भन्दै ललितपुर महानगरपालिकाले डुङ्गा किन्ने भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको एक कार्यक्रममा महानगरले छिट्टै डुङ्गा किन्ने जानकारी दिएका हुन् ।
‘कार्यपालिका बैठकले छिट्टै निर्णय गरेर डुङ्गा किन्छौ, अब चाडपर्व सकिने वित्तिकै डुङ्गा किन्ने तयारी छ’ नगर प्रमुख महर्जनले भने । उनले डुङ्गा किनेपछि नगर प्रहरीलाई तालिम दिने व्यवस्था समेत भएको बताए। ‘सशस्त्र प्रहरीबाट तालिम लिने व्यवस्था मिलाउने भएका छौँ । बाढीजन्य विपदमा उद्धारका लागि डुङ्गा महत्वपूर्ण र अत्यावश्यक साधन हो,’ महर्जन भन्छन् । महानगरले डुङ्गा किनेर महानगरको विपद् व्यवस्थापन केन्द्रमा राख्ने बताए ।
असोज दोस्रो साता आएको बाढी र पहिरोको बेला ललितपुर महानगरपालिकाले पाँच वटा पम्प किनेर घरभित्र पसेको पानी निकालेको थियो । यस्तै हिलो माटो निकाल्न सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
दशैंमा खानेपानी र फोहोरको समस्या
ललितपुर महानगरभित्र भएको क्षति विवरण आउन क्रम नै रहेको भन्दै मेयर महर्जनले बाढी र पहिरोका कारण खानेपानीको पाइप फुटेको, भाँचिएको, पुरिएकोले महानगरवासीले दशैंमा पनि खानेपानीको समस्या झेलिरहेको बताए । उनले भने, ‘खानेपानीको समस्या समाधान गर्न युद्धस्तरमा काम गर्नुपर्छ र केयुकेएलको ट्याङ्कर र महानगरको ट्याङ्कर, अन्य व्यवसायीको ट्याङकरबाट ठाउँठाउँबाट पानी वितरण गर्नुपर्छ ।’
नदीले बगाएर ल्याएको फोहोर व्यवस्थापन अर्को चुनौती भएको बताउँदै यसको व्यवस्थापनका लागि सबैको सक्रिय सहभागिता आवश्यक भएको बताए । नागरिकको सुरक्षा र स्वास्थ्य महत्वपूर्ण भएको बताउँदै पानी शद्धीकरणका लागि पियूष लगायतका औषधि वितरण गरेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।