मौलाकालिकाबाट भरतपुर नियाल्दा (तस्वीरहरू)

२० कात्तिक, काठमाडौं ।
जिन्दगीमा हेर्नैपर्ने घुम्नैपर्ने ठाउँ
मौलाकाली मन्दिर घुम्न जाउँ ।
यी शब्द गोविन्दराज विनोदीले लेखेको गीतको अंश हो । जसमा राजेशपायल राई र सरु पराजुलीले स्वर दिएका छन् । विनोदीको गीतले भने झैं मौलाकालीका मन्दिर दर्शन गर्नैपर्ने धार्मिक पर्यटन गन्तव्य बनेको छ । मौलाकालीका मन्दिर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
चितवन, तनहुँ र नवलपुरको संगमस्थल यो क्षेत्र नेपालकै धार्मिक तथा सांस्कृतिक महत्त्वको पवित्र भूमिका रूपमा प्रख्यात छ ।
मौलाकालीका मन्दिर दर्शनका लागि २०८० साल अघिसम्म दर्शनार्थीहरू पैदल जाने गर्थे । तर, २०८० वैशाखदेखि भने मौलाकाली केबुलकार चढेर सहजै मन्दिर दर्शन गर्न पाइन थालेको छ ।
मौलाकाली केबुलकार सहितको पर्यटकीय पूर्वाधारले मौलाकाली मन्दिर दर्शनमा थप उत्साह थपेको केबुलकारका स्टेसन म्यानेजर सुरज पौडेल बताउँछन् ।
साढे ४ सय वर्षको इतिहास बोकेको मौलाकालीका मन्दिरबाट दायाँतर्फ देखिने देवघाट वैदिक सनातन धर्मको पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहित सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबुलकार सहितका नयाँ पर्यटकीय संरचनाले थप टेवा पुगेको पौडेल बताउँछन् ।
मौलाकालीका मन्दिर परिसरबाट उत्तर पूर्वतर्फ पवित्र तीर्थस्थल देवघाट, उत्तरतर्फ टलल टल्किने हिमशृङ्खला, पश्चिममा हरियाली पहाड र पूर्व दक्षिणमा चितवन सदरमुकाम भरतपुर र दक्षिणमा नवलपुर गैंडाकोटको समथर फाँट देख्न सकिन्छ ।
केबुलकार सञ्चालनमा आएसँगै मौलाकालीका मन्दिर दर्शन गर्न आउने भक्तजन संख्या ३० प्रतिशतसम्मले बढेको उनको भनाइ छ ।
१ हजार २ सय मिटर लम्बाइ रहेको केबुलकारमा १२ यात्रुवाहक, एउटा सामान बोक्ने र एउटा मर्मतसम्भार गरी कुल १४ वटा गोन्डोला (डब्बा) छन् । यो अवधिमा करिब ४ लाख यात्रुले केबुलकार मार्फत मौलाकालीका दर्शन गर्न पुगेको पौडेल सुनाउँछन् ।
उनका अनुसार केबुलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रु बोक्ने डब्बा र दुइटा सामान बोक्ने डब्बा छ । एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ । नारायणगढ पुल्चोकबाट केबुलकार बटम स्टेसनसम्मको दुरी साढे दुई किलोमिटर छ ।
पौडेलका अनुसार अधिकांश यात्रु चितवन, नवलपुर, काठमाडौं, तनहुँ, रुपन्देही, कास्की लगायत देशभरिबाट नै आउनुका साथै छिमेकी देश भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन आउने गरेका छन् ।
आईएमई समूहको मुख्य लगानी रहेको मौलाकाली केबुलकार १ वैशाख २०८० देखि सञ्चालनमा आए पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १८ वैशाखमा औपचारिक उद्घाटन गरेका थिए । केबुलकारले स्थानीय सहित चार दर्जनलाई रोजगारी दिएको छ ।
केबुलकारको माथिल्लो स्टेसनमा ६० कोठा सहितको सुविधा सम्पन्न होटल निर्माणाधीन छ । होटलको छतमा हेलिप्याड रहने छ । ५ सय जना अट्ने सभाहल, स्विमिङ पुलसहित व्यवस्था हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।