Main

म्याक्सिम्याक्स १९ औं न्याभ कपमा १७ टिम, दीपेन्द्र र कुशल अस्ट्रेलिया आउँदै

२३ मंसिर, मेलवर्न (अस्ट्रेलिया) । नेप्लिज एशोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष आयोजना गर्ने म्याक्सिम्याक्स न्याभ कप टी-२० क्रिकेट प्रतियोगिताको १९औं संस्करणमा १७ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार मेलवर्नमा आयोजित कार्यक्रममा अर्को सातादेखि सुरु हुने प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ । भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपाली समुदायबीच प्रतिस्पर्धात्मक क्रिकेटबाट एकीकृत गर्ने उद्देश्यले आयोजित प्रतियोगिता १४ जनवरीदेखि सुरु भएर १० मार्चसम्म सञ्चालन हुनेछ।

आयोजक न्याभका अध्यक्ष प्रेमराज उप्रेती, मुख्य प्रायोजक म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेजका सीईओ शंकर धरेल तथा सहभागी टिमका प्रतिनिधिको उपस्थितिमा प्रतियोगितामा प्रतिस्पर्धा गर्ने चार समूह निर्धारण गरिएको छ ।

समूह ए मा मावेन क्रिकेट क्लव, नारे किंग्स, ग्रेस गोरखाली क्रिकेट क्लव, चितवन राहिनोज र एक्सपर्ट सगरमाथा ब्लुज छन् ।

समूह बी मा डाँफे स्ट्राइकर्स क्रिकेट क्लव, चितवन क्रिकेट क्लव, एभरेष्ट लायन्स र गुल्मी टाइगर्स छन् ।

समूह सी मा युनाइटेड वारियर क्रिकेट क्लव, रोयल राइनोज क्रिकेट क्लव, ट्राइकन क्रिकेट क्लव र ब्राइटन एक्सप्रेस छन् ।

समूह डीमा द हिमालयन क्लब, राइजिङ सन क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स र फार वेष्ट हन्टर्स छन् । फार वेष्ट प्रतियोगिताको साविक विजेता हो ।

प्रतियोगिताको विजेताले ५ हजार अस्ट्रेलियन डलर र उपविजेताले १ हजार ५ सय डलर पुरस्कार पाउनेछ । सहभागी टिमले १ हजार डलर सहभागी शुल्क बुझाउनु पर्नेछ ।

दुई महिनासम्म हरेक सप्ताहान्तमा चल्ने प्रतियोगिताका दौरान छुट्टै च्यारिटी क्रिकेटको पनि आयोजना हुनेछ । सो खेलबाट संकलित सम्पूर्ण रकम नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिने न्याभले जनाएको छ।

मुख्य प्रयोजक म्मयाक्सिम्याक्सका सीईओ धरेलले भिक्टोरियाका नेपाली समुदायको सामिप्यताका साथै भावी दिनमा नेपाल क्रिकेटकै बिकासमा अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरे । म्याक्सिम्याक्सले लगातार दोस्रो संस्करण प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो ।

‘नेपाली समुदायबीच प्रतिष्ठित बनिसकेको यो प्रतियोगितासँग सहकार्य गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो’, कार्यक्रममा सीइओ धरेलले भने ।

न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले भिक्टोरियाको नेपाली समुदायको समुन्नतिका लागि स्थापित संस्थाले क्रिकेटलाई प्रमुख कार्यक्रमका रुपमा सञ्चालन गरिरहेको बताए । उनले आगामी दिनमा नेपाल क्रिकेटलाइ विश्वव्यापीकरण गर्न भूमिका खेल्नेसमेत बताए । उनले भने, ‘नेपाल क्रिकेटलाइ अस्ट्रेलियाको क्रिकेट संरचनासँग जोड्नका लागि न्याभले पुलको काम गर्नेछ।’

दिपेन्द्र र कुशललाई सम्मान गरिने, क्यान अध्यक्ष पनि आउने

न्याभले यस वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई युवा खेलाडी दीपेन्द्रसिंह एरी र कुशल मल्ललाई विशेष सम्मान गर्ने भएको छ ।

प्रतियोगिताको समापनसँगै २ नेपाली खेलाडीलाई सम्मान गरिन लागेको न्याभका अध्यक्ष उप्रेतीले आइतबारको कार्यक्रममा जानकारी दिए ।

यसैवर्ष चीनमा सम्पन्न एसियाली खेलकुदका दौरान टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका यी खेलाडीलाई मेलवर्न आमन्त्रण गरी सम्मान गर्न लागिएको हो ।

उनीहरुसँगै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पनि अस्ट्रेलिया आउँदै छन् । न्याभ अध्यक्ष उप्रेतीका अनुसार चन्द अस्ट्रेलिया आएको समयमा क्रिकेट अस्ट्रेलिया र क्रिकेट भिक्टोरियाका पदाधिकारीसँग भेटघाट र कुराकानीका लागि प्रयास भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button