युनिक सेक्युरिटीले ११७ नगर प्रहरीलाई दिएन तलब

१५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकालाई नगर प्रहरी जवान उपलब्ध गराएको सेक्युरिटी कम्पनीले ती नगर प्रहरीलाई तलब नदिएको पाइएको छ ।
काठमाडौं महानगरले दिने रकम लिएर आफूहरुलाई तलब नदिएको भन्दै नगर प्रहरीको काम गरेका युवाहरुले युनिक सेक्युरिटी कम्पनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
काठमाडौं महानगरपालिकाले ८ भदौ २०७९ मा निजी सेक्युरिटी कम्पनीबाट २०० जना नगर प्रहरी माग गर्दै आह्वान गरेको टेण्डर युनिक सेक्युरिटी कम्पनीले पाएको थियो ।
महानगरपालिकाले टेण्डर आह्वान गर्दा प्रति जवान मासिक ३५ हजार रुपैयाँ तलब, दैनिक २ सय रुपैयाँ रासन खर्च, एक महिना बराबरको दशैं खर्च र वर्षमा एक पटक १३ हजार रुपैयाँ लत्ता कपडा खर्च दिने प्रस्ताव गरेको थियो ।
युनिक सेक्युरिटीले बोलकबोलमा सबैभन्दा कम रकम अर्थात् मासिक २० हजार रुपैयाँ तलबमा काम गर्ने भन्दै ठेक्का पाएको थियो । तर आफूहरुलाई मासिक १५ हजार रुपैयाँ पनि नदिएको नगर प्रहरीमा काम गरेका युवक हेमराज खत्रीले बताए ।
‘महानगरले २० हजार तलब, ६ हजार रासन भत्ता गरेर मासिक २६ हजार दिनुपर्ने भनेको छ तर हाम्रो तलबमा ५ हजार काटेर मासिक १५ हजार रुपैयाँ मात्रै दिने गरेको छ । रासन भत्ता पनि १ हजार सेक्युरिटी कम्पनीले नै लिने गरेको छ’, उनले भने ।
वर्षमा एक पटक दिने १३ हजार रुपैयाँ लत्ता कपडा खर्च र दशैं पेश्की पनि नदिएको उनले बताए । ‘करार सकिँदा औसतमा प्रत्येक जवानलाई ७५ हजार रुपैयाँ सेक्युरिटी कम्पनीले दिनुपर्ने हो त्यो दिएको छैन’, खत्रीले भने ।
युनिक सेक्युरिटीबाट नगर प्रहरीमा भर्ना भएका ११७ जनाको असार मशान्तबाट जागिर सकिएको छ । तर जागिर सकिएको १५ दिन बित्दा पनि सेक्युरिटी कम्पनीले तलब दिएको छैन ।
‘हामीले प्रहरी जवान सरह तलब, सुविधा पाउनुपर्ने भन्दै माग राख्दा कम्पनीले कहिले महानगरले पैसा दिन बाँकी छ भन्ने, कहिले अब दिन्छौं काम गर्नु भनेको थियो, महानगरसँग करार सकिएपछि पनि बाँकी पैसा नदिएपछि सेक्युरिटी कम्पनीमा गएर माग राख्दा टेरेन’, खत्रीले भने ।
त्यसपछि उनीहरुले कम्पनीमा तालाबन्दी गरेर ३ जना सञ्चालक र कर्मचारीलाई प्रहरी कार्यालय कालिमाटी ल्याएका थिए । प्रहरीले आपसी समझादारीमा टुंग्याउन भनेपछि बल्खुस्थित कार्यालयमा गएर छलफल गरेका थिए । तर सहमति नभएको नगर प्रहरीमा काम गरेका युवाहरुले बताए ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले भने सेक्युरिटी कम्पनी र उनको कामदारको विवाद भएकाले महानगरसँग सरोकार नराख्ने जनाएको छ ।
‘महानगरपालिकाले ठेक्कामार्फत ल्याएको कामदारको पैसा कम्पनीलाई दिएको छ, अब कम्पनी र उनीहरुको कर्मचारीको विवादबारे हामीलाई मतलब भएन । हामीले लगाएको काम वापत पैसा दिने हो’, नगर प्रहरीको प्रशासन क्षेत्र हेर्ने डीएसपी ईश्वर वाग्लेले भने ।
महानगर प्रहरीले सूचनामा भूतपूर्व नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल खोजे पनि युनिक सेक्युरिटीले अनुभव नभएका युवालाई नगर प्रहरीको रुपमा पठाएको थियो ।
‘युनिक सेक्युरिटी बदमास रहेछ, सुरुमै हामी चाहिने जति दिन्छौं भनेर ठेक्का लियो त्यसपछि मापदण्ड नै नपुगेका नगर प्रहरी पठयो, त्यो पनि जम्मा १६२ मात्रै पठायो’, नगर प्रहरीका डीएसपी वाग्लेले भने ।
युनिक सेक्युरिटीबाट आएका युवाहरुको सम्झौता सकिएपछि काठमाडौं महानगर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको वैकल्पिक सूचीमा परेका २१२ जनालाई नगर प्रहरीमा भर्ना गरिसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।