युभेन्ट्सबाट लिभरपुल पुगे फेडेरिको चिएसा

१३ भदौ, काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब युभेन्ट्सबाट फेडेरिको चिएसालाई अनुबन्ध गरेको छ ।
लिभरपुलले चिएसालाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । त्यसमा टिमको प्रदर्शनका आधारमा २.५ मिलियन पाउण्ड थप समेत हुनेछ ।
२६ वर्षीय चिएसाले लिभरपुलसँग ४ वर्षको सम्झौता गरेका छन् । नयाँ प्रशिक्षक अर्ने स्लटको आएपछि लिभरपुलको यो पहिलो अनुबन्ध हो ।
सन् २०२० को युरो फाइनलमा इटलीले इंग्ल्याण्डलाई वेम्लीमा पराजित गर्दै उपाधि जित्दा चिएसा स्टार खेलाडी थिए ।
लिभरपुलमा अनुबन्ध हुँदा खुशी लागेको चिएसाले बताएका छन् । ‘म लिभरपुलको खेलाडी बन्दा एकदमै खुशी छु । जब रिचर्ढ हुज्ले मलाई कल गरेर के तिमी लिभरपुलमा जान चाहन्छौँ भने र कोचले पनि कल गरे । मैले तत्कालै हुन्छ भने । किनकी यो क्लबको इतिहास मलाई थाहा छ । ‘ चिएसाले क्लबको वेबसाइटसँग भनेका छन् ।
उनले लिभरपुलमा खेल सुरुवात गर्नका लागि आफू उत्सहित रहेको बताएका छन् । चिएसाले युभेन्ट्समा डेबुट सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई प्रभावित पारेका थिए । तर २०२२ को मा भने घुँडाको चोटका कारण उनले संघर्ष गर्नुपरेको थियो ।
चिएसाले इटलीका लागि ५१ खेल खेल्दै ३२ गोल गरेका छन् । यस्तै युभेन्ट्सका लागि उनले १३१ खेल खेल्दै ३२ गोल गरेका छन्,जसमा गत सिजन ३७ खेल खेल्दै १० गोल गरेका थिए ।
युभेन्ट्सका नवनियुक्त प्रशिक्षक थिएगो मोट्टोले आफ्नो पहिलो दुई खेलको टिममा चिएसालाई राखेका थिएनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।